वासिङटन-बेइजिङ मनमुटावको फाइदा भारतलाईः ९२ अर्बको विशाल आइफोन प्लान्ट चीनबाट बैंगलुरु सर्दै

बिजमाण्डू
२०७९ फागुन १९ गते १५:०७ | Mar 3, 2023
वासिङटन-बेइजिङ मनमुटावको फाइदा भारतलाईः ९२ अर्बको विशाल आइफोन प्लान्ट चीनबाट बैंगलुरु सर्दै

काठमाडौं। वासिङटन र बेइजिङको तिक्तता बढ्दै जाँदा त्यसको असर दुई देशीय व्यापारमा पनि बढ्दै गएको छ। पश्चिमा राष्ट्रहरु बेइजिङमाथि अनेकन दबाब सृजना गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

अझ चिनियाँ प्रविधि प्रयोग भइरहेका देशमाथि पश्चिमा राष्ट्रहरु अनेक दबाब दिइरहेका छन्। डेटा सुरक्षामा गम्भीर प्रश्‍न उठाउँदै पश्चिमाहरु सूचनाप्रविधिको क्षेत्रमा अझ बढी आक्रामकरुपमा चीनविरुद्ध लागिरहेका छन्। चीन भने त्यसलाई सधैं प्रतिवाद गर्दै आइरहेको छ।

पश्चिमा राष्ट्रका कम्पनीहरु पनि एकपछि अर्को गर्दै बेइजिङसँगको नाता अन्यत्र ‘सिफ्ट’ गर्न अग्रसर देखिन्छन्। यही अग्रसरताको फाइदा भने दिल्लीले उठाउन सफल भइरहेको छ। अर्थात् चीनबाट अमेरिकीलगायतका पश्चिमा राष्ट्रका बहुराष्ट्रिय कम्पनीहरु क्रमिक रुपमा भारत सिफ्ट भइरहेका छन्।

यसको पछिल्लो उदाहरण बनेको छ आइफोन निर्माता एप्पलको सहयात्री फक्सकन। एप्पलको पार्टनर फक्सकन टेक्नोलोजी ग्रुपले भारतमा स्थानीय उत्पादन वृद्धि गर्न ७० करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँभन्दा बढी) लगानीको योजना अघि बढाएको छ।

अमेरिकी कम्पनी एप्पल वासिङटन र बेइजिङबीचको तिक्तता बढ्दै गएको भन्दै फक्सकन भारत सिफ्ट हुने मनस्थितिमा पुगेको बताइएको छ।

ताइवानको कम्पनी होन हाइ प्रेसिसन इन्डस्ट्री कम्पनी (फक्सकन) ले आइफोन उत्पादन गर्न कर्नाटका बैंगलुरुको एयरपोर्ट नजिकै ३ सय एकर (२३८६ रोपनी) को विशाल क्षेत्रफलमा प्लान्ट लगाउँदैछ। उक्त प्लान्टमार्फत एप्पलको ह्यान्डसेट असेम्बल पनि हुने बताइएको छ। फक्सकनले सोही साइटबाट विद्युतीय सवारीसाधनका विभिन्न पार्ट्स पनि उत्पादन गर्ने योजना सारेको छ।

भारतमा फक्सकनले सिंगल आउटलेटमा गरेको यो अहिलेसम्मकै सबैभन्दा ठुलो लगानी हुनेछ। जसका कारण चीन विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक उत्पादकबाट विस्तारै हराउन सक्ने जोखिम बढेको छ। पछिल्लो समय एप्पलसहितका अन्य अमेरिकी ब्राण्डहरु चिनियाँ सप्लायरहरुलाई चीनभन्दा पनि त्यसको विकल्पमा भारत र भियतनामलाई वैकल्पिक स्थानको रुपमा विकास गर्ने तयारीमा छन्।

चीनबाट प्लान्टहरु सिफ्ट हुने क्रम बढ्दै गएपछि कोरोना महामारी र युक्रेन युद्धका क्रममा विस्तार भएको सप्लाई चेनले ग्लोबल इलेक्ट्रोनिक्सको हकमा भने नयाँ स्वरुप लिन सक्ने आकलन गर्न थालिएको छ।

भारतमा निर्माण हुने नयाँ साइटबाट १ लाखभन्दा बढी रोजगारी सृजना हुनेछ। अहिले चीनको ग्वान्जाउमा रहेको आइफोन एसेम्ब्ली कम्प्लेक्समा करिब २ लाख कर्मचारी कार्यरत छन्। यो संख्याका कर्मचारी भने पिक सिजनमा मात्रै उपयोग हुने बताइएको छ।

फक्सकनको निर्णयले सप्लायरहरु चीनले सोचेभन्दा पनि छिटो सिफ्ट हुँदै जाने देखिएको छ। भारतमा गर्ने लगानी तथा परियोजनाको विस्तृत विवरणहरु टुंगिन बाँकी नै रहेकाले फक्सकनले औपचारिकरुपमा यसबारे जानकारी गराएको छैन। भारतमा बन्ने प्लान्ट चीनमै रहेको प्लान्टको विकल्प हुने हो वा अन्य पक्षबारे आधिकारिक जानकारी भने आइसकेको छैन।

भारतीय सञ्चारमाध्यमहरुले एप्पलसँग यस विषयमा प्रतिक्रिया माग्दा दिन भने मानेन। यही साता होन हाइका अध्यक्ष योङ लिउले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका थिए। लिउले कर्नाटकाको छिमेकी प्रान्त तिलंगना राज्यमा पनि अर्को म्यानुफ्याक्चरिङ प्रोजेक्ट ल्याउन प्रतिबद्ध भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

कर्नाटकाको प्रान्तीय सरकारले पनि आइफोन प्लान्ट बारे जानकारी औपचारिक रूपमा बाहिर ल्याएको छैन।

यदि फक्सकनको निर्णय सही ठहरिएमा मोदी सरकारका लागि यो ऐतिहासिक सफलता हुनेछ। भारतलाई चीनसँगको प्राविधिक खाडल पुर्न धेरै सहयोग मिल्नेछ। यसका साथै पश्चिमा लगानीकर्ता तथा कम्पनीलाई भारत तर्फ आकर्षित गर्न यो निकै महत्वपूर्ण हुनेमा मोदी सरकार सचेत छ।

भारत सरकारले एप्पलको सप्लायर फक्सकनलाई वित्तीय सहुलियत दिने प्रस्तावसमेत अघि सारिसकेको छ। गत वर्षबाटै फक्सकनले तमिलनाडुमा लेटेस्ट आइफोनहरु उत्पादन थालिसकेको छ। यस्तै फक्सकनमा प्रतिस्पर्धी विस्ट्रन कर्प र पेगाट्रोन कर्प पनि भारत भित्रिसकेका छन्। त्यसैगरी, जबिल आइएनसीले भारतमै एयरपड्सको कम्पोनेट उत्पादन सुरु गरिसकेको छ। (एजेन्सीहरुको सहयोगमा)