
काठमाडौं। चाचान समूहको नारायणी तेल रिफाइनरी उद्योगले एकैवर्ष करिब ११ अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीले २०२१/२२ मा १० अर्ब ९४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।
कम्पनीले २०२०/२२ मा १० अर्ब ६५ करोड ९० लाख र २०१९/२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीले नेपाली बजारका साथै भारत निर्यातबाट समेत राम्रो आम्दानी गर्दै आएको छ। तर, भारत सरकारले स्थानीय तेल रिफाइनरीहरुले कच्चा खानेतेल आयातमा भन्सार घटाइदिएपछि नारायणीको नाफाको मार्जिन भने घट्न पुगेको छ। २०२०/२१ मा नाफा मार्जिन १४.८१ प्रतिशत रहेकोमा भारत सरकारको प्रावधानपछि २०२१/२२ मा घटेर ७.३३ प्रतिशतमा सीमित भएको छ।
बारामा प्लान्ट रहेको नारायणी तेल रिफाइनरी विगत ३० वर्षदेखि संचालनमा छ। प्लान्टबाट वीरगंज सुख्खा बन्दरगाहबाट चार किलोमिटर दूरीमा छ। उद्योग आयात गर्ने विभिन्न कच्चा पदार्थहरु भारतीय बन्दरगाहमा आइपुग्ने भएकाले प्लान्ट नजिकै हुँदा ढुवानी खर्च कम लाग्ने बताइएको छ। जसका कारण उद्योगलाई प्रतिस्पर्धात्मक फाइदा पुग्ने देखिन्छ।
उद्योगले भारतको वेस्ट बेङ्गल, बिहार, उत्तर प्रदेश, राजस्थान र दिल्लीमा खानेतेल निर्यात गर्छ। कम्पनीले २०२१/२२ मा कुल बिक्रीको ४९ प्रतिशत भारत निर्यातबाट आर्जन गरेको छ। २०२२/२३ को पहिलो ६ महिनामा भारत तर्फ निर्यात हुने खानेतेल ६९ प्रतिशतले गिरावट आएको छ।
उद्योगसँग वार्षिक एक सय १७ हजार टन तेल उत्पादन गर्ने जडित क्षमता छ। उद्योगले भटमास, पाल्मोलिन, पाम आयल, भेजिटेबल तेल, तोरी तेल, सूर्यमुखी तेल प्रशोधन गर्दै आएको छ।
उद्योगले त्रिशक्ति, स्माइल, आरोग्य, श्री, नीलमणि, कुन्दन र निलकमल ब्राण्डका खानेतेलहरु नेपाली बजारमा बिक्री गर्दै आएको छ।
उद्योगले पाँच अर्ब १७ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट पाएको एथ्री रेटिङ पुन:पुष्टि गरेको छ।