सहकारीहरुले अब बैंक खातामा अनलाइन नै कारोबार गर्न सक्ने, ग्राहकलाई पनि सुविधा

बिजमाण्डू
२०७९ फागुन १७ गते १२:०५ | Mar 1, 2023
सहकारीहरुले अब बैंक खातामा अनलाइन नै कारोबार गर्न सक्ने, ग्राहकलाई पनि सुविधा


काठमाडौं। सहकारी संस्थाहरुले आफ्ना बैंक खातामा अनलाइन कारोबार गर्न सहज हुने भएको छ। यसका लागि नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले इन्फोडेभलपर्सबीच सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

इन्फोडेभलपर्ससँग आबद्ध सहकारीहरुले आफ्ना बैंक तथा वित्तीय संस्थाहरुका खातामा कारोबार एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गर्ने सक्नेछन्। भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कामलाई सहजीकरण गर्न दुई कम्पनीबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरिरहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना ‘क,’ ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सक्ने र त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइने छ।

ती सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिने छ। विद्युतीय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समुहमा बैंकिङ पहुँच पुर्‍याउन यस एनसीएचएल र इन्फोडेभलपर्सको सहकार्यले थप टेवा पुर्‍याउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी/ पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इनडाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।    

इन्फोडेभलपर्स प्रालिले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध-सरकारी, लघुवित्त, सेयर बजार लगायतका विभिन्न संस्थाहरुलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरु गर्न मद्दत पुर्‍याउँदै आएको छ।