
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले सेवा सुविधा वापत शुल्क तिर्न ढिलाइ गरेपछि नागरिक उड्डयन प्राधिकरणले कारवाही अगाडि बढाएको छ।
नियमित रुपमा शुल्क नतिर्ने कम्पनीको सेवा सुविधा खारेज गर्न प्राधिकरणले धमाधम अडिट सुरु गरेको एक अधिकारीले बताए। मुलुकमा आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीमध्ये बुद्ध एयरबाहेक अरु कम्पनीको बक्यौता छ। सबैभन्दा धेरै नेपाल वायुसेवा निगमको १८ करोड रुपैयाँ बक्यौता छ।
‘हामीले सबै वायुसेवा कम्पनीलाई पत्राचार गरिसकेका छौं। अहिले अडिट भइरहेको छ। अब उहाँहरुले समर सेडुलका लागि आवेदन गर्दा बक्यौता नतिरे सेवा रोक्नेछौं,’ प्राधिकरणका एक कर्मचारीले भने।
वायुसेवा कम्पनीको नाम | विमानस्थलको बक्यौता |
बुद्ध एयर | ०० |
यती एयरलाइन्स | ३,३६,००००० |
श्री एयरलाइन्स | ८६,००००० |
सौर्य एयरलाइन्स | १,४८,००००० |
गुण एयरलाइन्स | ४,००००००० |
तारा एयर | ५०,००००० |
समीट एयर | ७०,००००० |
सीता एयर | १,५०००००० |
नेपाल वायुसेवा निगम | १८,००००००० |
विभिन्न वायुसेवाको संचालन विल मासिक करिब ५० लाख रुपैयाँ कायम हुने गरेको उनले जानकारी दिए। प्राधिकरणले सुचना जारी गरेको २१ दिनभित्र नतिरे सेवा रोकिने उनले बताए।
आर्थिक संकटमा परेर पाइलट, इन्जिनियर, कर्मचारीलाई तलब नदिँदा उडान सुरक्षामा समेत समस्यामा पर्ने भन्दै प्राधिकरणले वित्तीय अडिट सुरु गरिसकेको छ।
तलब सुविधा नदिएको भन्दै प्राधिकरणले केही दिनअघि गुण एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्राधिकरणले सबै आन्तरिक कम्पनीको वित्तीय अडिट गर्न लागेको हो।
प्राधिकरणका अनुसार आन्तरिक उडान गर्ने कम्पनीको ४८ करोड रुपैयाँ बक्यौता छ।