
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीले गैरकानुनी रुपमा थाई स्माइललाई ग्राउण्ड ह्यान्डलिङ र मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल (एमआरओ) सेवा दिएको खुलेको छ।
क्षेत्रीले विधि र प्रक्रिया मिचेर स्वविवेकीय अधिकार प्रयोग गरेर थाई स्माइललाई ग्राउण्ड ह्यान्डलिङ दिएको खुलेको हो।
कुनै पनि कम्पनीलाई सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा दिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले टिप्पणी उठाएर नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक समक्ष प्रस्ताव पठाउँछ।
त्यो प्रस्तावलाई उपमहानिर्देशकले सदर गरेपछि महानिर्देशकमा प्रस्ताव पठाउने गरिन्छ। त्यही प्रस्तावका आधारमा प्राधिकरणका महानिर्देशकले सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा दिने निर्णय हुने गर्छ।
तर, थाई स्माइललाई सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा दिँदा सुरुमा त्यही प्रक्रिया अपनाएको देखिन्छ। त्यो प्रक्रिया अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले थाई स्माइल थाई एयरवेजको सब्सिडरी कम्पनी भएकाले ग्राउण्ड ह्यान्डलिङ सेवा दिन भन्दै प्रस्ताव गरे।
त्यो प्रस्ताव अनुसार प्राधिकरणको उपमहानिर्देशकसमक्ष पुग्यो। उपमहानिर्देशक हशंराज पाण्डेले थाई एयरवेजलाई ग्राउण्ड ह्यान्डलिङ सेवा दिएकाले सब्सिडरी भएकै आधारमा अर्को कम्पनीलाई हस्तान्तरण गर्न नमिल्ने टिप्पणी उठाए।
यो टिप्पणीसहितको प्रस्ताव तत्कालीन महानिर्देशक क्षेत्रीसमक्ष पुग्यो। यो टिप्पणी देखेपछि क्षेत्री रातोपिरो हुँदै कागज धुँजाधुँजा पारेर रड्डीको टोकरीमा फालिदिए।
त्यो पत्र च्यातेको केही समयमै तत्कालै अर्को प्रस्ताव पठाउन महाप्रबन्धक गुरागाईंलाई निर्देशन दिए। त्यो निर्देशनलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्को पत्र पुग्यो। तर त्यो उपमहानिर्देशकको होइन सोझै महानिर्देशक क्षेत्रीको टेबुलमा पुग्यो। गुरागाईंले महानिर्देशक क्षेत्रीलाई सम्बोधन गर्दै उपरोक्त सम्बन्धमा विमानस्थल संचालन विभागले पेस गरेको व्यहोरा मनासिब रहेको र निवेदकले थाई स्माइल थाई एयरवेजको पूर्ण स्वामित्वमा रहेको सब्सिडरी उल्लेख गरेकाले पेस भए बमोजिम स्वीकृतिका लागि पेस गर्दछु भनेर टिप्पणी उठाएका छन्। त्यही टिप्पणीमा क्षेत्रीले स्वीकृत भनेर लेखेका छन्।
त्यसपछि क्षेत्री आफैंले ग्राउण्ड ह्यान्डलिङको निर्णयमा हस्ताक्षर गरे। गैरकानुनी रुपमा दिइएको ग्राउण्ड ह्यान्डलिङ सेवा प्राधिकरणले अहिले रद्द गरेको छ। विमानस्थल संचालन विभागमा त्यो बेलामा प्रेमनाथ ठाकुर प्रमुख थिए। उनले नै थाई एयरवेजले बुझाउन बाँकी रहेको बक्यौता र थाई स्माइलको सबै जिम्मेवारी नेपालको जीएसए सोसाइटी इन्टरनेसनल ट्राभलले हेर्ने गरी जिम्मा पायो। यसरी जिम्मा पाएको सोसाइटीले थाई स्माइलको मात्रै ग्राउण्ड ह्यान्डलिङ सेवा संचालन गरेन। सँगै एमआरओ सेवा अरु कम्पनीलाई पनि दिन थाल्यो। थाई स्माइलले कोरियन, सिंगापुर, क्याथे प्यासिफिकलाई एमआरओ सेवा दिएर पैसा उठाउन थाल्यो।
पर्यटन मन्त्रालय स्रोतका अनुसार थाई स्माइलले यहाँ सेवा दिएको बिलिङ थाइल्याण्डबाटै गर्थ्यो। नेपालबाट बिलिङ गर्दा प्राधिकरणलाई एमआरओ सेवाको आम्दानी गरेकोमध्ये १५ प्रतिशत बुझाउनुपर्ने भएकाले थाइल्याण्डबाटै बिलिङ भएको हो। ‘ कम्पनीले प्राधिकरणलाई पैसा दिनुपर्छ भनेर थाइल्याण्डबाटै बिलिङ गर्थ्यो। कम्पनीले वर्षेनि एमआरओ सेवा दिँदा दुई अर्बको कारोबारको १५ प्रतिशतका दरले ३० करोड रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्थ्यो,’ पर्यटन मन्त्रालयका एक कर्मचारीले भने, ‘यति ठूलो गम्भीर आर्थिक अपराध भइरहेको रहेछ।’
ती कर्मचारीका अनुसार विमानस्थलका महानिर्देशक प्रेमनाथ ठाकुर टेप प्रकरणमा निलम्बन भएपछि यो घटना बाहिर आएको हो। ‘टेप प्रकरण बाहिर नआएको भए यो अपराध सार्वजनिक हुँदैन्थ्यो,’ उनले भने, ‘टेप प्रकरणमा सोसाइटी इन्टरनेसनलका जिम्मेवार व्यक्ति नै संलग्न भएको जानकारीपछि हेर्दै जाँदा यो पत्ता लागेको हो। यो अपराधलाई पदको दुरुपयोग गरेको आधारमा पनि छानबिन अघि बढ्दैछ। त्यो बेलामा निर्णय गर्ने पदाधिकारीलाई पनि कारबाही हुने सुनेको छु।’

