
काठमाडौं। तनहुँ जिल्लाको व्यास नगरपालिका बीमितहरुले प्रलोभनमा परेर बीमा गर्दा बीमा शुल्क बुझाउन नसक्ने अवस्था आएको बताएका छन्। नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशका तनहुँ जिल्लाको ब्यास नगरपालिकामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यसो बताएका हुन्।
उनीहरुका अनुसार बीमा कम्पनीहरुले बीमा गर्नुअघि विभिन्न प्रलोभन दिने तर बीमा लेखका बारेमा पूर्ण जानकारी दिने गर्दैनन्। बीमितहरुले एउटै बीमा लेखको बीमाशुल्क पनि कम्पनी अनुसार फरक फरक हुने गरेको र जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसके पछि भने दीर्घरोगी रहेको भन्ने गरेको लगायतका गुनासाहरु गरे।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमाका बारेमा राम्रो जानकारी नहुँदा बीमितहरु अन्यौलमा पर्ने गरेको उल्लेख गरे।
उनले बीमा कम्पनीहरुले बीमा गर्नु भन्दा अगाडि बीमालेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताए। सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई प्रमुख न्यौपानेले आग्रह गरे।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे।
यसैगरी, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरुले घर घरमा गएर बीमा गरे जस्तै बीमा दाबी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नुपर्ने बताए।
उनले बीमाले विपद्का समयमा सरकारलाई आइपर्ने आर्थिक भार कम गर्न मद्दत गर्ने भएकाले एकद्वार प्रणालीमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाउन महानगरपालिका अग्रसर हुने जानकारी दिए। नीति तथा कार्यक्रममा राखेर बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग नेपाल बीमा प्राधिकरणले आग्रह गरेको छ।