भोलिबाट सीता एयरले काठमाडौं-दाङ व्यवसायिक उडान थाल्दै, सातामा तीन दिन उडान

२०७९ फागुन २ गते १६:०५
भोलिबाट सीता एयरले काठमाडौं-दाङ व्यवसायिक उडान थाल्दै, सातामा तीन दिन उडान


काठमाडौं। निजी वायुसेवा सीता एयरले बुधबारबाट दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गर्ने भएको छ। माघमा परीक्षण उडान गरेको सीताले साताको तीनवटा उडान गर्ने तारिका पाएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। सीताले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ।

Tata
GBIME

‘यसअघि नेपाल वायुसेवा निगमले यो गन्तव्ययमा नियमित उडान गर्दै आएको थियो। अब निजी वायुसेवाले पनि यो गन्तव्यमा नियमित उडान सेवा दिने भएको छ,’ सूचना अधिकारी भुलले भने,’सीताले उडान सुरु गरेसँगै यात्रु सेवा थप विस्तार हुने देखिएको छ।’

हाल नेपाल वायुसेवा निगमले यो गन्तव्यमा १९ सिटे ट्‍वीनअटर जहाजमार्फत साताको आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्दै आएको छ।

प्राधिकरणका अनुसार यो गन्तव्य उडानका लागि एकतर्फी भाडादर ५ हजार ८६५ रुपैयाँ छ।

सन् १९६१ बाट संचालनमा आएको विमानस्थलको धावनमार्ग लम्बाई सात सय ५० मिटर र चौढाइ ३० मिटर रहेको छ। यो विमानस्थलमा डोर्नियर, ट्‍वीनअटर लगायत सिरिजको जहाज उडान अवतरण क्षमता रहेको छ। सीताले डोर्नियर विमानबाट उडान गर्नेछ। 


Sunrise Bank