मौलाकालिका हाइड्रोले ३८.१७ मेगावाटको आयोजना निर्माण गर्दै, लागत ८ अर्ब ७५ करोड हुने

बिजमाण्डू
२०७९ फागुन १ गते १३:४५ | Feb 13, 2023
मौलाकालिका हाइड्रोले ३८.१७ मेगावाटको आयोजना निर्माण गर्दै, लागत ८ अर्ब ७५ करोड हुने


काठमाडौं। मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ३८.१७ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

सम्भाव्यता अध्ययन पुरा गरेको कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीसँगै स्वीकृति मागेको छ। इआइए स्वीकृत भएसँगै कम्पनीले निर्माण अघि बढाउने तयारी छ। हाइड्रोपावरका लागि नेपाल इन्भाइरोन्मेन्ट एण्ड डेभलपमेन्ट कन्सल्ट्याण्ट प्रालिले इआइए प्रतिवेदन तयार पारेको हो।

आयोजना कालीगण्डकी नदीमा प्रस्ताव गरिएको छ। प्रस्तावित क्षेत्र तनहुँको देवघाट-१, ४ र ५, नवलपुरको गैंडाकोट-३ मा पर्छ। यो अर्ध-जलाशययुक्त अर्थात् पिकिङ रन अफ दि रिभर (पीआरओआर) प्रकृतिको आयोजना हुनेछ।

प्रस्तावित जलविद्युत आयोजनको औसत वार्षिक ऊर्जा उत्पादन  २३३.३४ गिगावाट आवर उत्पादन हुनेछ। सुक्खा मौसमको पिकिङ इनर्जी २८.८३ गिगावाट आवर र सुक्खा मौसमको अफ पिक इनर्जी ४०.८० गिगावाट आवर छ। बर्खाको १६३.७२ गिगावाट आवर उत्पादन हुनेछ। प्रस्तावित आयोजनाको पिकिङ आवर ४ घण्टा छ।

कालीगण्डकी नदीको बायाँ किनारामा विद्युतगृह निर्माण गरिनेछ।  ब्यारेजको ठिक तल बायाँपट्टी नै विद्युत गृह हुने गरी आयोजनाको डिजाइन गरिएको छ। इनटेक क्षेत्र टासी गाउँनजिकै थाक्पा नदी र कालीगण्डकी नदीको संगमको बायाँ किनारमा अवस्थित हुनेछ।

प्रस्तावित विद्युतगृहदेखि १० किलोमिटर लामो सिंगल सर्किट प्रसारणलाइन चितवनस्थित न्यु भरतपुर सबस्टेसनमा जोडिनेछ। विद्युत उत्पादनका लागि प्रयोग गरिएको पानी टेलरेस क्यानलमार्फत पुन: कालीगण्डकी नदीमा नै खसाइनेछ।

आयोजनाको सिभिल वर्क्सका लागि २ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ, इलेक्ट्रो-मेकानिकल वर्क्सका लागि ८४ करोड ४० लाख, प्रसारणलाइनका लागि १६ करोड, सडक तथा पूर्वाधारका लागि १ करोड गरि कुल आर्थिक लागत ८ अर्ब ७५ करोड रुपैयाँ (ब्याज सहित) लागत अनुमान गरिएको छ। ब्याजबाहेक  ५ अर्ब ९६ लाख रुपैयाँ  लागत अनुमान गरिएको छ। दीर्घकालीन ऋणमा ७ प्रतिशत र अल्पकालीन ऋणमा ८ प्रतिशत ब्याजदर अनुमान गरिएको छ।

इन्टर्नल रेट अफ रिटन १२.३८ प्रतिशत रहेको छ। सामान्य फिर्ता अवधि ६.५१ वर्ष र डिस्काउन्टेट फिर्ता अवधि १२.२१ वर्ष रहेको छ। रिटर्न अफ इक्विटी (आरओइ) १६.२३ प्रतिशत रहेको छ।

आयोजनाका लागि ४९.६१ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्छ। जसमध्ये ४०.७१ हेक्टर र ८.९ हेक्टर अस्थायी रुपमा प्रयोग हुनेछ। ३२.९ हेक्टर सरकारी र १६.७१ हेक्टर निजी जग्गा प्रयोग हुनेछ। नवलपुरबाट २४.०१  हेक्टर र तनहुँबाट २५.६ हेक्टर जग्गा अधिग्रहण हुनेछ।

यो जलविद्युत आयोजना निर्माणपछि १४ किमि लम्बाइको कृत्रिम ताल निर्माण हुनेछ। रिसोर्ट संचालन,  डुंगा सवारी जस्ता पर्यटकीय आकर्षणका काम गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।

आयोजनाले स्थानीयलाई रोजगारी उपलब्ध गराउनेछ। कालीगण्डकी किनारमा रहेको देवघाट प्रसिद्ध धार्मिक क्षेत्र हो।