
काठमाडौं। गौतम अडानीले अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्गविरूद्ध मुद्दा लड्न अमेरिकाको सबैभन्दा महँगो ल फर्म, वाचटेललाई दिएको छ।
वाल स्ट्रिटको टप कानूनी फर्म, वाचटेललाई यसअघि ट्वीटरले इलन मस्क ट्विटर खरिद गर्ने सम्झौताबाट पछि हटेपछि मस्क विरूद्धको कानूनी लडाइ लड्न हायर गरेको थियो।
अडानी समूहले आफ्ना लगानीकर्ताहरूलाई अडानी समूहको वित्तीय अवस्थाको बारेमा आश्वस्त पार्नका लागि हिन्डेनबर्गविरूद्ध कानुनी लडाइमा जान खोजेको हो।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, अडानी समूहले हिन्डेनबर्गको नकारात्मक प्रतिवेदनबाट उत्पन्न संकटलाई रोक्नको लागि न्यूयोर्क वाचटेल, लिप्टन, रोजेन र काट्जका वरिष्ठ वकिलहरूलाई हायर गरेको छ।
जनवरी २४मा हिन्डेनबर्ग रिसर्चले सार्वजनिक गरेको प्रतिवेदनले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको आरोप लगाएको थियो।
यस लगत्तै अर्बपति गौतम अडानीको नेतृत्वमा रहेको समूहलाई संकटमा आएको छ। समूहको मुख्य सात पब्लिक कम्पनीहरूले बजार मूल्यबाट करिब ११० अर्ब डलर गुमाइसकेको छ। यसले अडानी विश्वको तेस्रो धनी व्यक्तिबाट अहिले एकाइसौँ स्थानमा झरिदिएको छ।
वाचटेल अडानी समूहको कानूनी पक्ष हेर्ने सिरिल अमरचन्द मंगलदास फर्मको कार्यालयमा अडानी समूहले सम्पर्क गरेको थियो। सिरिल अमरचन्द मंगलदासको नेतृत्व सिरिल श्राफले गरेका छन्, जसको छोरीको गौतम अडानीका छोरासँग बिहे भएको छ ।
वाचटेलले अडानी समूहको लागि संकट सञ्चार फर्म लगायतको फर्महरूबाट थप सल्लाहकार सहयोग खोजिरहेको छ।