
काठमाडौं। पर्यटकीय गतिविधिमा उत्साहजनक सुधार भएलगत्तै सोल्टी होटलको नाफामा उछाल आएको छ। चालु आर्थिक वर्षको पुसमसान्तसम्म होटलले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर कम्पनीको नाफा ४ करोड ९० लाख रुपैयाँमा सीमित थियो।
खुद नाफा बढेसँगै कम्पनीको प्रति सेयर आम्दानी पनि २.९८ रुपैयाँ पुगेको छ। गत आवको पुसमा प्रति सेयर आम्दानी जम्मा ०.५८ रुपैयाँ मात्र थियो। कम्पनीले ब्याजबापत कम रकम भुक्तानी गरेको देखिन्छ।
यस अवधिमा होटलको आम्दानी पनि ११४ प्रतिशत वृद्धि भएको छ। पोहोर पुस मसान्तसम्म ४४ करोड ७८ लाख रुपैयाँ रहेको आम्दानी ९६ करोड रुपैयाँ पुगेको छ। आम्दानीसँगै खर्चका शीर्षकमा पनि व्यापक वृद्धि देखिन्छ।
पछिल्लो एक वर्षको अन्तरालमा होटलको सम्पत्ति १४ प्रतिशत बढेर एक अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। चुक्ता पुँजीमा कुनै वृद्धि छैन। तर सञ्चित मुनाफा ताथा जगेडा बढेर एक अर्ब १३ करोड रुपैयाँ छ। पोहोर ६३ करोड ८६ लाख रुपैयाँ थियो।
पुस अन्त्यसम्म होटलको प्रति सेयर नेटवर्थ २३.५१ रुपैयाँ छ। गत वर्ष प्रति सेयर नेटवर्थ १७.५८ रुपैयाँ थियो।