
काठमाडौं। साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकका संस्थापक सेयरधनीले विद्यमान कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्री गर्ने भएका छन्।
सो सेयर बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो।
इच्छुक संस्था वा व्यक्ति जो कोहीले बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।
सेयरको न्युनतम मूल्य बैंकले १३८ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम एक हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बैंकले बिहीबारदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा फागुन ११ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।