आन्तरिक उत्पादन कम भएपछि यसवर्ष भ्यालेन्टाइन डेमा गुलाबका लागि भारतकै भर

सरला सुवेदी
२०७९ माघ २४ गते ०८:५७ | Feb 7, 2023
आन्तरिक उत्पादन कम भएपछि यसवर्ष भ्यालेन्टाइन डेमा गुलाबका लागि भारतकै भर


काठमाडौं। प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेका लागि यस वर्ष भारतबाट ९३ प्रतिशत गुलाब आयात हुने भएको छ। आन्तरिक उत्पादन घटेपछि गत वर्षको भन्दा बढी गुलाब आयात गर्नुपर्ने अवस्था आएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ।

Tata
GBIME
Nepal Life

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि हरेक वर्ष साढे २ लाखभन्दा बढी गुलाब फूलको कारोबार हुन्छ।

यस पटक भ्यालेन्टाइन डेका लागि ७ प्रतिशत आन्तरिक उत्पादन र ९३ प्रतिशत आयातित फूलले माग पूरा गर्न लागेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताए।

गत वर्ष ९० प्रतिशत आयात र १० प्रतिशत स्वदेशी उत्पादन थियो। चिसो र कम खेतीका कारण यस वर्ष उत्पादन थप घटेको छ। आगामी फागुन २ गते परेको यो वर्ष प्रेम दिवसका लागि करिब २ लाख ६० हजार स्टिम गुलाबको आयात हुने बताइएको छ। आन्तरिक आपूर्ति २० हजार स्टिम मात्र रहेको छ।

प्रेम दिवस अवधिभर झण्डै २ करोड ८० लाख रुपैयाँसम्मको व्यावसायिक कारोबार हुने अनुमान छ। गुणस्तर अनुसार गुलाबको फूल उपभोक्ता मूल्य प्रतिस्टिम ८० देखि १ सय २० रुपैयाँको हाराहारीमा रहने अध्यक्ष तामाङले बताए।

गत वर्ष २ लाख ७ हजार स्टिम गुलाबको कारोबार भएको थियो। यसको उपभोक्ता मूल्य ८० देखि एक सय रुपैयाँसम्म थियो। फूलको मूल्य गत वर्षको भन्दा २० रुपैयाँले बढेको हो।

यो वर्ष उत्पादन पहिलेभन्दा घटेपछि आयात परिमाण र मूल्य पनि बढेको संघले जनाएको छ। प्रेम दिवसको अवधिमा ६० प्रतिशत गुलाब काठमाडौं उपत्यका र ४० प्रतिशत बाहिरको सहरहरुमा खपत हुन्छ।

२ लाख ८० हजार स्टिम डच रोज तथा लोकल रोजको माग हुने गरेको एशोसिएसनका अध्यक्ष तामाङले बताए। यो देशभरको अनुमानित बजार हो। काठमाडौं उपत्यकामामात्र करिब एक लाख ६८ हजार स्टिम गुलाबको खपत हुन्छ। यसैगरी बाँकी एक लाख १२ हजार गुलाब उपत्यका बाहिरका सहरहरुमा खपत हुने गरेको छ।

एशोसिएसनका अनुसार सामान्य दिनमा प्रतिदिन सरदर एक लाख स्टिम गुलाब फूलको माग रहने गरेको छ। कोभिडअघि ८० प्रतिशत आन्तरिक उत्पादन र बाँकी २० प्रतिशत अन्य देशहरुबाट आयात गरी बजारको माग पूरा गर्दै आइरहेको थियो। स्टिम गुलाबभन्दा प्लाष्टिकका फूलहरु सस्तो पर्ने भएकोले पहिले यसको खपत अनुमान गरेभन्दा कम हुन्थ्यो।

गत वर्षदेखि भने सरकारले प्लाष्टिकका फूल गुच्छा आयात गर्न रोक लगाएकोले यसपटक स्टिम गुलाबको खपत राम्रो हुने व्यवसायीहरुले बताएका छन् ।

कोभिडपछि भने नेपाली कट फ्लावरको बजारीकरणमा समस्या आएपछि आन्तरिक उत्पादनमा ७५ प्रतिशतले गिरावट आएको छ। नेपालमा गुलाब फूलको व्यावसायिक खेती सबैभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्ला तथा चितवन र काभ्रेपलान्चोकमा हुने गरेको एशोसिएसनले जनाएको छ।