आयल निगमको भण्डारण क्षमता बढाउने दुई परियोजना क्याबिनेटमा अलपत्र, बने माग एक महिना धान्ने

शुक्र गिरी
२०७९ माघ १८ गते १२:२२ | Feb 1, 2023
आयल निगमको भण्डारण क्षमता बढाउने दुई परियोजना क्याबिनेटमा अलपत्र, बने माग एक महिना धान्ने


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन अध्ययन गरेका दुई परियोजना मन्त्रिपरिषद्‍मा अलपत्र परेका छन्।

Tata
GBIME
Nepal Life

निगमले वितरण प्रणाली सहज र भण्डारण क्षमता बढाउन भन्दै चितवनको लोथर र झापाको चारआलीमा अत्याधुनिक डिपो निर्माण गर्ने परियोजना अगाडि सारेको थियो। तर यी परियोजनाको अध्ययन गर्ने काम सकेर मन्त्रीपरिषद्‍मा उक्त प्रस्ताव पुगे पनि सरकारले कुनै निर्णय गरेको छैन।

निगमका अनुसार यसको अध्ययन सम्पन्न भएर मन्त्रीपरिषदमा पेश गरिएको छ। निगमले यो परियोजना अगाडि बढाउन मन्त्रीपरिषदको छलफल र निर्णय कुरिरहेको निगमले जनाएको छ।

चितवनको लोथरमा १ लाख ४ हजार किलोलिटर क्षमताको अत्याधुनिक डिपो निर्माण गर्ने निगमको योजना छ। यसका लागि ९ अर्ब भारतीय रुपैयाँ (साढे १४ अर्ब नेपाली रुपैयाँ) लागत अनुमान गरिएको छ।

त्यसैगरी दोस्रो चरणमा झापाको चारआलीमा पनि ४४ हजार किलोलिटर क्षमताको अत्याधुनिक डिपो निर्माण गर्ने निगमको योजना छ। तर, क्याबिनेटले कुनै निर्णय नगर्दा यी दुवै परियोजनाको काम अघि बढ्न नसकेको निगमले जनाएको छ।

झापाको परियोजनामा चारआलीसम्म सिलगुडीदेखि पाइपलाइन विस्तार गर्ने सरकारको योजना अनुरुप काम अगाडि बढाइने बताइएको छ। यो परियोजना निर्माणको लागि भारु ७ अर्ब (करिब ११ अर्ब नेपाली रुपैयाँ) पर्छ।

यी दुवै आयोजनाहरुको अध्ययनको सबै काम सकिएको निगमको भनाइ छ।

पहिलो चरणमा चितवनको लोथरमा डिपो निर्माण गर्ने काम अगाडि बढ्ने निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले बताए। उनका अनुसार परियोजनाको सबै अध्ययन सम्पन्न भएर मन्त्रीपरिषद्‍मा पेस भएको छ।

‘यो परियोजना नेपाल सरकार र भारत सरकारबीच जीटुजी स्तरमा ड्राफ्ट पनि गरिएको र हाल छलफलमा छ। मन्त्रीपरिषद्‍ले पारित गरेपछि भारत र नेपालबीच जीटुजी स्तरकै सम्झौता हुनेछ। सम्झौता अनुसार कुन मोडालिटीमा परियोजनाको काम अगाडि बढाउने भन्ने कुरा टुंगिन्छ,’ गोइतले भने, ‘यो परियोजनाको लक्ष्य भण्डारण क्षमता वृद्धिसँगै पेट्रोलियम पदार्थको वितरण कार्य सहज बनाउनु हो। सरकारले ३ महिनाको लागि पेट्रोलियम भण्डारण क्षमताका डिपोहरु निर्माण गर्ने लक्ष्य अनुरुप यो योजनाको काम अगाडि बढाइएको थियो।’

उनका अनुसार यो डिपोलाई आधुनिक टर्मिनल भनिन्छ। यसमा पनि स्मार्ट प्रविधि प्रयोग हुनेछ। यसले सुरक्षालाई प्राथमिकतामा राख्ने निगमले जनाएको छ।

‘पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन सबै एउटै पाइपलाइनबाट आउने व्यवस्था छ। यस्तो व्यवस्थाले पेट्रोलियम पदार्थ मिसिन्छ भन्ने कुरा भ्रम हो। यसमा पेट्रोलियम पदार्थमा एकआपसमा नमिसियोस् भनेर छुट्टै प्रविधिक प्रणाली जडान गरिएको हुन्छ,’ उनले भने।

उनले पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउँदा ११ हजार किलोलिटर पाइपलाइनमा नै हुने बताए। ‘यो सबै एकैपटकमा ट्यांकरले उठाउन सक्दैनन्। यसका लागि मुख्य भण्डारण क्षमताको निर्माण गर्नुपर्छ। त्यसपछि अन्य कुराको प्रक्रिया सुरु हुनेछ,’ उनले भने।

गोइतका अनुसार यो परियोजनामा १४ हजार किलोलिटर क्षमताको एउटा ट्यांक निर्माण गर्नुपर्छ। हरेक पेट्रोल, डिजल र हवाई इन्धनको लागि ३/३ वटा ट्यांक आवश्यक पर्छन्। यसमा एउटा ट्यांक पाइपलाइनबाट आएको तेल राख्न प्रयोग हुन्छ।

यस्तै गुणस्तर परीक्षणका लागि अर्को ट्यांक आवश्यक पर्छ। त्यसपछि फाइनल प्रोडक्ट राख्नका लागि अर्को ट्यांक प्रयोग गरिन्छ। त्यसैले तीनवटा प्रडक्टको लागि ३/३ वटा ट्यांक आवश्यक पर्ने गोइतले बताए।

यो प्रणालीमा जाँदा सुरक्षित संचालनका लागि रणनीति तयार पारिने गोइत बताउँछन्। यो परियोजनाको काम पनि त्यही अनुसार अगाडि बढ्छ। त्यही अनुसार यसका लागि आवश्यक सबै स्ट्रक्चरहरु निर्माण गर्ने योजना रहेको उनले बताए।

‘लोथरको डिपो निर्माण भएपछि निगमको स्टोरेज भण्डारण क्षमता १५ देखि २० दिनसम्मको हुन्छ,’ उनले भने, ‘बिक्रीअनुसार भण्डारण क्षमता निर्भर हुनेछ। अहिले बिक्री धेरै छ। त्यो अनुसार हेर्दा २० दिनसम्मका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ।’

चारआली र लोथरको दुवै परियोजना संचालनमा ल्याउन सके पेट्रोलियम पदार्थको भण्डारण क्षमता १ महिनालाई पुग्ने गोइतको दाबी छ। ‘निगमले पेट्रोलियम पदार्थको वितरण कार्य सहज बनाउन सक्छ। मूल्य बढ्ने, नाका बन्द हुने समयमा पेट्रोलियम पदार्थ वितरण कार्यमा भोग्नु परेको समस्या समाधान हुनेछ,’ उनले भने।

वितरण प्रणाली सहज र भण्डारण क्षमता बढ्ने

पछिल्लो समय निगमको भण्डारण क्षमता कम हुँदा निगमले पेट्रोलियम पदार्थ महँगो मूल्यमा खरिद गरी बिक्री गर्नु परिरहेको छ जसका कारण जनताले पेट्रोलियम पदार्थको मूल्य धेरै तिर्न बाध्य भइरहेका छन्।

यदि निगमसँग भण्डारण क्षमता एक महिनालाई पुग्ने भए निगमले हालसम्म कमाएको नाफा गुमाएर ऋणमा जाने अवस्था आउने थिएन।

यसो हुँदा तेल खरिद गर्दा निगमले एक महिना अगाडिको मूल्यमा खरिद गरी भण्डारण गर्न सक्ने क्षमतामा संचालन गर्न सकिन्छ। जसको कारण वितरण प्रणाली र मूल्य स्थिर राख्न सहज हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायको भनाइ छ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा र घट्दाको समय आफूलाई सहज हुने मूल्यमा पेट्रोलिय पदार्थ खरिद गरी खपत अनुसारको भण्डारण गर्न सकिन्छ,’ उपाध्यायले भने, ‘यसरी भण्डारणको क्षमता बढ्दा सरकारलाई फाइदा हुनेछ। यो आयोजना सम्पन्न भएपछि निगमको भण्डारण क्षमता एक महिनालाई पुग्छ।’

निगमले चितवनलाई सबै ठाउँमा पेट्रोलियम पदार्थ वितरण तथा ढुवानी गर्ने केन्द्रविन्दु बनाउन खोजेको उपाध्यायले बताए। यसले वाग्मती प्रदेशलाई मात्र नभइ गण्डकी, लुम्बिनी र मधेस प्रदेशको आधा भागलाई यसले वितरण र ढुवानीमा सहजता पुर्‍याउने निगमको भनाइ छ।

उपाध्यायका अनुसार अहिले अमलेखगंजबाट विराटनगर, भैरहवा, काठमाडौं, पोखरा, जनकपुरलगायतका क्षेत्रमा पेट्रोल र डिजल ढुवानी गरिन्छ। ‘लामोदूरीमा ढुवानी गर्दा लागत धेरै लाग्छ,’ उनले भने, ‘तर चितवनको लोथरदेखि काठमाडौं, पोखरालगायतका क्षेत्रमा वितरण तथा ढुवानी गर्न छोटो समय र ढुवानी लागत कम हुने गर्छ।’

यसले निगमको ढुवानी खर्च बचत हुने र वितरण प्रणाली सहज हुँदै जाने उपाध्यायले बताए। अहिले अमलेखगंजदेखि ढुवानी गर्नुभन्दा लोथरदेखि काठमाडौंसम्म ढुवानी गर्न धेरै सहज र कम खर्च लाग्ने उनको भनाइ छ।

‘लोथर डिपो यी क्षेत्रका लागि करिब करिब बीचमा पर्छ। यसले चितवनदेखि पश्चिम भागलाई वितरण प्रणालीमा सहज बनाउँछ,’ उनले भने, ‘यस्तै चितवनदेखि पूर्वी भागलाई भने अमलेखगंजले वितरण प्रणालीमा सहज बनाउँछ।’

अहिले काठमाडौं उपत्यकामा मात्रै पेट्रोलियम पदार्थको खपत ३० देखि ४० प्रतिशतसम्म रहेको उपाध्यायको भनाइ छ। काठमाडौं उपत्यकामा मात्र अहिले दैनिक रुपमा साढे ६ लाख लिटर पेट्रोल र १० लाख लिटरसम्म डिजलको खपत हुने गरेको उपाध्यायले बताए।

काठमाडौं उपत्यकापछि अहिले डिजलको धेरै खपत अमलेखगंजमा हुने गरेको उपाध्यायको भनाइ छ। यसअघि पोखरामा उपत्यकापछिको सबैभन्दा धेरै डिजल खपत हुने सहर मानिन्थ्यो। यस्तै भैरहवा, बिराटनगर र तराइमा धेरै पेट्रोलियम पदार्थको खपत भइरहेको छ।

नेपालमा हाल हरेक वर्ष सरदर १० प्रतिशतले पेट्रोलियम पदार्थको खपत वृद्धि हुने गरेको उपाध्याय बताउँछन्। तर डिपोहरुको भण्डरण क्षमता भने पुरानै अवस्थामा राख्दै जाने हो भने पेट्रोलियम पदार्थको प्रतिदिन बिक्रीदर बढ्दै जाँदा भण्डारण क्षमता कम हुँदै जाने हुन्छ।

अहिले निगमसँग पेट्रोल ५ दिनलाई र डिजल ७ दिनलाई पुग्ने भण्डारण क्षमता रहेको उपाध्यायले बताए। यो खपत बढ्दै जाँदा भन्डारण क्षमता पनि घट्दै जानेछ। अहिले निगमसँग ६८ किलोलिटर पेट्रोलियम पदार्थको भन्डारण क्षमता रहेको छ। त्यसैले पनि निगमको यो परियोजना निर्माण काम छिटो अगाडि बढाउन आवश्यक भइसकेको उपाध्याय बताउँछन्।