बैंकमा सुनको मौज्दात सकियो, आजदेखि पुन: आयातको लागि सिफारिस

बिजमाण्डू
२०७९ माघ १७ गते १२:२१ | Jan 31, 2023
बैंकमा सुनको मौज्दात सकियो, आजदेखि पुन: आयातको लागि सिफारिस

काठमाडौं। बजारमा सुनको कारोबार बढ्न थालेपछि बैंकहरुमा रहेको सुनको मौज्दात सकिएको छ। गत महिना अफसिजनले सुनको माग घट्दा बैंकले आयात गरेका सुन बिक्री नभएर स्टक बसेको थियो। माघको दोस्रो सातादेखि बजारमा सुनको माग बढ्न थालेपछि बैंकमा भएको एक सय ७० केजी सुनको मौज्दात सकिएको बैंकर्स संघले जनाएको छ।

Tata
GBIME
Nepal Life

संघका अनुसार बैंकमा सुनको स्टक सकिएपछि आजदेखि पुन: आयातको लागि सिफारिस गरिएको छ।

बैंकर्स संघले ‘उपत्यका र बाहिरको जिल्लाको लागि एक/ एक सय केजी सुन आयात गर्न सिफारिस गरेको’ संघकी कर्मचारी सविना श्रेष्ठले बताइन्। आयात रोकिएको एक महिनापछि पुन: सुरु भएको हो उनले भनिन्।

गत शुक्रबार बैंकसँग साढे ७ केजीमात्र सुन स्टक थियो। हालसम्म उक्त सुन बजारमा गइसकेको छ। यसले गर्दा संघले आजदेखि ४ वटा बैंकलाई सुन आयात गर्न सिफारिस दिएको हो। बैंकलाई सिफारिस दिएको ५ दिनभित्र सुन आयात गरिसक्नु पर्ने व्यवस्था छ। केही बैंकले ३ दिनभित्रै सुन आयात गर्छन्। कुनैले ५ दिननै लगाउने गरेको श्रेष्ठले बताइन्।

अघिल्ला वर्ष माघमा बिहेको सिजनले गर्दा सुनको माग धेरै हुन्थो। यस समयमा प्रतिकेजी १० केजीका दरले आयात गर्दा पनि बजारको माग धान्न अपुग हुने गरेको थियो।सिजनमा बजारमा दैनिक ४० केजीभन्दा बढी सुनको खपत हुन्छ।

यतिबेला भने सुनको मूल्य प्रतितोला एक लाख ५ हजारभन्दा माथि पुगेपछि बजारमा सुनको खपत माग घटेको हो। यसले गर्दा व्यवसायीहरुले पुस महिनाभरीको लागि आयात रोक्न आग्रह गरेका थिए। तर माघ सुरु भएपनि सुनको मागमा सुधार नभएपछि आयात करिब एक महिनानै रोकिएको थियो।

गत सातादेखि भने दैनिक २० केजी भन्दा बढी सुनको खपत हुन थालेको व्यवसायीहरुले बताएका छन्।