
काठमाडौं। महिन्द्राको एसयुभीको प्रिमियम सेगमेन्टको ‘एक्सयुभी ७००’ गाडी नेपालमा सार्वजनिक गरिएको छ। सोमबार महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले पानीपोखरी शोरुममा उक्त गाडीको सार्वजनिक गरेको हो।
उक्त कार्यक्रममा कम्पनीका उप-निर्देशक बरदान बस्नेतले गाडीको मूल्य पनि सार्वजनिक गरेका छन्। उनले यो गाडीको सुरुवाती मूल्य ७४ लाख रुपैयाँ रहेको बताए। यस्तै टप भेरियन्टको मूल्य १ करोड १० लाख रहेको छ।
हाल कम्पनीले नेपालमा ६ वटा भेरियन्टमा यसलाई नेपाल ल्याएको हो। जसमा एएक्स३ पेट्रोल एमटीको ७४ लाख, एएक्स फाइभ पेट्रोल एमटी ५ सिटरको ८१ लाख, एटी ५ सिटरको ८९ लाख, एटी ७ सिटरको ८३ लाख र एएक्स सेभेन सिरिज एल पेट्रोल एमटीको १ करोड ५ लाख तथा एल पेट्रोल एमटी १ करोड १० लाख रुपैयाँ तोकिएको छ।
यस्तै अहिले पहिलो बुकिङ गर्नेले फेवररीको मध्यतिर गाडी डेलिभरी दिने कम्पनीले जनाएको छ।

यस्ता छन् गाडीका विशेषता
आर्टिफिसियल इन्टेलिजेन्स सुविधा समावेश गरिएको यो एसयुभी तुलनात्मक हिसाबले सुरक्षित रहेको छ। लेन क्रस गर्दा, अधिकतम गति लिएको अवस्थामा, चालक सक्रिय नभएको अवस्थामा स्वचालित रुपमा अलर्ट गर्ने विशेषताहरु यसमा जडान गरिएको कम्पनीले जनाएको छ।
डब्लु ६०१ प्रोजेक्टअन्तर्गत इन्नोभेसनमा आधारित भएर एक्सयुभी ७०० को निर्माण गरिएको छ।
चालक तथा यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा सातवटा एयरब्याग, क्यामरा, ड्राइभर अटेन्सन अलर्ट, डाइनामिक स्टाविलिटी कन्ट्रोल लगायतका सुविधा जडान गरिएको छ। गाडीमा जडान गरिएको अटो बुस्टर हेडल्याम्पले रातको समयमा हाइ विम लाइटबिना नै प्रतिघण्टा ८० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, यो गाडीमा चालकले इच्छाअनुसारको आवाजबाट सेफ्टी अलर्ट फिचर पर्सनलाइज गर्न सक्ने सुविधा रहेको छ।
सुरक्षालाई मध्यनजर गर्दै गाडीमा चालक र सहचालकका लागि सिट बेल्टसँगै ल्याप प्रि-टेन्सनर राखिएको छ। इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसनसहित एन्टी लक ब्रेकिङ सिस्टम राखिएको गाडीमा फ्रन्टल र साइड क्र्यास सेन्सर समावेश गरिएको छ।

सात सिट र पाँच सिट क्षमतामा रहेको यो गाडी महाराष्ट्रको प्लान्टमा उत्पादन हुँदै आएको छ। एडिएस (एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम) समावेश गरिएको यो गाडीमा अटोनोमस ब्रेकिङ सिस्टम, राडर सिस्टम, चालकका लागि थ्रीडी पानारोमिक भिजन, बइलिड ट्र्याकिङ मेकानिजम लगायतका अत्याधुनिक सुविधा जडान गरिएको छ।
यो गाडी २.० लिटरको टर्बो एम स्टालियन पेट्रोल इन्जिन र २.२ लिटरको एम हक डिजल इन्जिनमा उतपादन गरिएको छ। पेट्रोलियम इन्जिन मार्फत अधिकतम १९० बिएचपी शक्ति वहन गर्ने यो पहिलो एसयुभी रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार आयल बर्नरयुक्त इन्जिनले भने अधिकतम १८५ बिएचपी शक्ति वहन गर्नेछ।
यो गाडी ६ स्पीड म्यानुअल र ६ सुपिड टर्क कन्भर्टर अटोमेटिक लगायत दुई ट्रान्समिसनमा उपलब्ध छन्।
