अडानीको सेयर मूल्य घट्दा ‘सर्ट सेलिङ’ मा बसेको हिन्डेनबर्गलाई नाफा, के हो ‘सर्ट सेलिङ?’

बिजमाण्डू
२०७९ माघ १५ गते १५:३३ | Jan 29, 2023
अडानीको सेयर मूल्य घट्दा ‘सर्ट सेलिङ’ मा बसेको हिन्डेनबर्गलाई नाफा, के हो ‘सर्ट सेलिङ?’

काठमाडौं। विस्तृत अनुसन्धानपछि हिन्डेनबर्गले ‘यूएस-ट्रेडेड बण्ड’ र ‘गैर-भारतीय-ट्रेडिङ डेरिभेटिभ’ जस्ता उपकरणहरू मार्फत अडानी समूहका कम्पनीहरूमा ‘सर्ट सेलिङ’ पोजिसन लिएको छ। 

Tata
GBIME
Nepal Life

हिन्डेनबर्ग सर्ट सेलिङमा बसेलगत्तै कम्पनीहरुको सेयर मूल्यमा पहिरो जान सुरु गरिसकेको छ। जसले गौतम अडानीको साम्राज्य नै डगमगाएको छ। कतिपयले अडानी समूहका कम्पनीका लागि यो ‘ब्लड बाथ’ साबित हुने टिप्पणी समेत गर्न थालिसकेका छन्।

सर्ट सेलरले अडानी समूहका सेयरलाई लक्षित गरेलगत्तै कम्पनीका मूल्य उल्लेख्य रुपमा घट्न थालेका छन्। प्रतिवेदन सार्वजनिक भएको अर्को दिनै अडानी ग्रुपका कम्पनीहरुको सेयर १० प्रतिशतले घटेको थियो। 

शुक्रबारसम्म आइपुग्दा समूहको होल्डिङ कम्पनी अडानी इन्टरप्राइजेजको सेयरले १९ प्रतिशत गुमाइसकेको छ, जुन २०१७ यता कै फराकिलो गिरावट हो। समूहले कुल बजार पूँजीकरणको ५१ अर्ब डलरभन्दा बढी गुमाइसकेको छ। 

एकातिर अडानी समूहको जग धरमराएको छ भने अर्कोपट्टी सर्ट पोजिसनमा बसेको हिन्डेनबर्गको नाफाले दिनदिनै फड्को मार्दैछ। लागनीकर्ताको मनोबल अझ डगमगाउने हो भने हिन्डेनबर्गले अर्बौ डलर नाफा कमाउने निश्चित छ।

कम्पनीले कति र कहिलेदेखि ‘सर्ट पोजिसन’ लिएको खुलाएको छैन। तर प्रतिवेदन सार्वजनिक भएपछि अडानी अन्तर्गतका कम्पनीको सेयर मूल्य तीव्र रुपमा घट्दो छ। बेलाबेला विवादमा तानिने गरेको अडानी समूहलाई यसपटक भने धेरै ठूलो धक्का लागेको छ। 

१२७ अर्ब डलरसम्म पुगेको प्रमुख संस्थापक गौतम अडानीको सम्पत्ति ९६.७ अर्ब डलरमा झरेको छ। तेस्रो धनी रहेका अडानी प्रतिवेदन सार्वजनिक भएपछि सातौं स्थानमा ओर्लिसकेका छन्।

प्रतिवेदनका कारण २० हजार करोडको अडानी इन्टरप्राइजेजको एफपिओ पनि नबिक्ने स्थितिमा पुग्नसक्ने समीक्षकहरुको टिप्पणी छ। एफपिओको रकम नउठे कम्पनीलाई ठूलो नोक्सानी हुने निश्चित छ। किनभने कर्जा तिर्न र कम्पनीको सञ्चालन खर्च व्यहोर्न एफपिओ जारी गर्न लागेको कम्पनीले उल्लेख गरेको थियो।

यसअघि हिन्डेनबर्गले सार्वजनिक गरेको प्रतिवेदनले इलेक्ट्रिक ट्रक निर्माता ‘निकोला कर्प’ लाई निकै ठूलो झट्का लागेको थियो। ३४ अर्ब डलरको कम्पनीको भ्यालुएसन १.६४ अर्ब डलरमा झरेको थियो। हिन्डेनबर्गका संस्थापक नाथन एन्डरसनका अनुसार पछिल्ला दाउमध्येकै सबैभन्दा नाफामुलक साबित भएको थियो।

हिन्डेनबर्ग कर्पोरेट त्रुटि फेला पार्ने र सो त्रुटिको सहायतामा कम्पनीविरुद्ध दाउ लगाउने लामो ट्र्याक रेकर्ड भएको कम्पनी हो।फोरेन्सिक वित्तीय अनुसन्धानकर्ताको रुपमा फर्म चर्चित छ।  

फर्मले लर्ड्सटाउन मोटरविरुद्ध पनि दाउ लगाएको थियो। जुन सम्बन्धित कम्पनीले नकार्दा समेत सहि साबित भएको थियो। यसअघि ‘इरोस इन्टरन्याशनल’ मा पनि हिन्डेनबर्गको प्रतिवेदन र दाउ दुवै सही साबित भएका थिए। सन् २०१७ देखि कम्तीमा १६ कम्पनीहरुमा सम्भावित गल्ती पत्ता लगाएको छ। गत वर्ष, हिन्डेनबर्गले ट्‍वीटरमा पनि सर्ट र लङ टर्म पोजिसन दुवै लिएको थियो।

यसै दौरान दुई वर्षको अनुसान्धानपछि हिन्डेनबर्गले झ्याङ्गिँदै गएको अडानीको व्यवसायको चिरफार गरेको हो। जनवरी २४ तारिकमा न्यूयोर्कस्थित इन्भेष्टमेन्ट रिसर्च फर्म हिन्डेनबर्गले अडानीको स्वामित्वमा रहेका कम्पनीहरुले फर्जी वित्तीय विवरण निकालेको प्रतिवेदन सार्वजनिक गरेको थियो। 

समूहले मुलुक बाहिरका नेटवर्कको सहायतामा कम्पनीहरुको आम्दानी र नाफा लगायतमा हेरफेर गरेको देखिन्छ। विशेषगरी अनिधिकृत अफसोर कम्पनीको प्रयोग भएको हो। जसको बलबुतामा कम्पनीहरुको सेयरमा समेत चलखेल गरी मूल्य उकासेको प्रतिवेदनमा उल्लेख छ।   

अडानी ग्रुप अन्तर्गतका ७ यस्ता कम्पनीको सेयर मूल्य पछिल्लो तीन वर्ष मै ८१९ प्रतिशतसम्म उक्लिएका छन्। यस्तो गुणात्मक मूल्य बृद्धि आफैमा शंकास्पद हुने हिन्डेनबर्गको तर्क छ। हिन्डेनबर्गका अनुसार यी कम्पनीहरु ८५ प्रतिशतभन्दा बढी ओभरभ्यालुड छन्।

७ प्रमुख अडानी कम्पनीहरूको विगत तीन वर्षमा रहस्यमय रूपमा बढेको देखिएको हो। गुणात्मक रुपले बढ्दा भारतका ठूला कम्पनीहरूमध्ये अडानीअन्तर्गतका कम्पनीहरुलाई गणना गर्न थालिएको छ। अडानी इन्टरप्राइजेज आफैंमा भारतको दोस्रो ठूलो कर्पोरेट फर्म हो। 

सेयर बजारमा अडानी समूहका कुल ७ वटा कम्पनी सूचीकृत छन्। सूचीकरण भएलगत्तै आकाशिएका कम्पनीको मूल्यले गर्दा उनीहरुको बजार पुँजीकरण २१ सय प्रतिशतसम्म बढेको छ। जसको परिणामस्वरुप गौतम अडानी विश्वका तेस्रो र एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका हुन्।

के हो सर्ट सेलिङ?

कम्पनीको सेयर मूल्य निश्चित रुपमा घट्छ भन्ने तर्कमा दाउ लगाउने ट्रेडिङ रणनीतिलाई सर्ट सेलिङ भनिन्छ। सर्ट सेलिङको रणनीति अनुसार कम्पनीको सेयर मूल्य पोजिसन लिइएको विन्दुपछि घट्नु पर्छ। सेयर मूल्य बढ्यो भने सर्ट सेलरको रणनीतिविपरीत घाटा हुन थाल्छ। 

सर्ट सेलिङको पोजिसन लिँदा, लगानीकर्ताले मूल्यमा कमी आउने विश्वास सहित स्टक वा सम्बन्धित सम्पत्ति उधारो लिन्छन्।पोजिसनबाट उम्किँदा ट्रेडरले बजारमा सस्तिएको सेयर किनेर उधारो सेयर सल्टाउँछन्। किनभने उसले सेयर मूल्य घट्छ भनेर निश्चित भएर सेयर उधारो लिएको थियो। यहाँ जति गिरावटको मार्जिन हुन्छ त्यो कारोबारीको मुनाफा हो।

सामान्यतया सेयर ब्रोकरहरुसँगबाट यस्तो स्टक उधारो लिइने गरिन्छ। र, सस्तो मूल्यमा किनेर उधारो फिर्ता गरिन्छ। यसबापत ब्रोकरले ब्याज अथवा थप फी कमिसन चार्ज गर्न सक्छन्। यसका लागि मार्जिन खाता अनिवार्य चाहिन्छ।

उदाहरणका लागि कुनै एक कम्पनीको सेयर प्रति कित्ता १०० रुपैयाँमा कारोबार हुँदैछ। तपाई अब मूल्य ओभर भ्याल्युड भयो र निश्चित रुपमा मूल्य सो विन्दुबाट घट्छ भन्नेमा विश्वस्त हुनुहुन्छ। यो सेयर सर्ट गर्ने उचित समय हो भन्ने तपाईलाई लाग्यो र १०० ‍कित्ता सेयर ब्रोकरबाट उधारो लिनुभयो। जसको कुल मूल्य १० हजार रुपैयाँ हुन्छ।

तपाईको अनुमान सही साबित भयो र एक साताको अन्तरालमा सेयर मूल्य ६० रुपैयाँ आइपुग्यो। अब तपाई सर्ट पोजिसनबाट उम्किने तय गर्नुभयो। यति बेला १०० कित्ता सेयर तपाईले बजारबाट किन्नुहुन्छ। जसको लागत तपाईलाई ६ हजार रुपैयाँ मात्र पर्न जान्छ।

त्यहि १०० कित्ता सेयर तपाईले उधारो सेयर बापत चुक्ता गर्नुहुन्छ। बाँकी ४० रुपैयाँ प्रति कित्ता तपाईको मुनाफा हो। अर्थात ४ हजार रुपैयाँ नाफा हो।

तर यदि तपाईको रणनीति अनुरुप कारोबार भएन। सेयर मूल्य उचालिएर १४० रुपैयाँ प्रति कित्ता पुग्यो। र, तपाईले सर्ट पोजिसनबाट उम्किन चाहनुहुन्छ। यति बेला तपाईलाई ४० रुपैयाँ प्रति कित्ता नोक्सानी भइसकेको हुन्छ। जुन तपाईले ब्रोकरलाई उधारो चुक्ता गर्ने बखत भुक्तानी गर्नुपर्ने हुन्छ।  

नेपालमा कहिले लागू हुन्छ?

नेपाल स्टक एक्सचेन्जले पनि सर्ट सेलिङ सुविधा बारे आन्तरिक अनुसन्धान गरेको थियो। सो सम्भावयता अध्ययनले नेपालमा पनि सर्ट सेलिङ कार्यान्वयनमा ल्याउन सकिने देखाएको थियो। तर नियामक धितोपत्र बोर्ड सकारात्मक हुन नसक्दा सर्ट सेलिङ कार्यान्वयनमा आउन नसकेको हो।

एक्सचेन्जसँग पूर्वाधार पनि पर्याप्त भएको जानकारहरु तर्क गर्छन्। सर्ट सेलिङको कारोआार सुरु गर्न डराउनु पर्ने अवस्था नरहेको सीडीएससीका प्रमुख कार्यकारी अधिकृतमा पूर्णप्रसाद आचार्यले बिजमाण्डूसँग बताएका हुन्। उनका अनुसार नियमको खाचो मात्र हो। सिस्टममा सामान्य फेरबदल पछि पूर्ण रुपमा सेवा सुचारु गर्न सकिन्छ।