
चीनको बलियो अर्थतन्त्र प्रायः विश्वव्यापी आर्थिक वृद्धिको प्रमुख संकेत हो। चीनको चलायमान आर्थिक गतिविधिले विश्वव्यापी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरुको टिप्पणी पनि रहँदै आएको छ।
पछिल्ला वर्ष कोभिड माहामारीले थलिएको चीनले आर्थिक व्यवस्थालाई पूर्णरुपमा सक्रिय पार्दै गर्दा विश्व अर्थतन्त्रमा फेरि पनि तरंग ल्याउन सक्ने चर्चा सुरु भएको छ। मन्दी उन्मुख अर्थतन्त्रलाई केही राहत पुग्ने समीक्षकहरुको धारणा छ।
जब जब चीनले आर्थिक वृद्धिमा गति लिन्छ, विश्वका बाँकी भागबाट आयात र विश्वव्यापी व्यापारले पनि गति लिन थाल्छ। जसले विश्वयापी अर्थतन्त्रलाई बलियो बनाउने गरेको इतिहास छ।
तर, जुन आर्थिक तरंगको अपेक्षा गरिएको छ, यस पटक भने केही फरक दृष्य देखिने केही विश्लेषकहरुको तर्क छ। कतिपयले यो समय कोभिड अगाडिको जसरी चीनका लागि सहज नभएको बताएका छन्। किनभने कोभिड संक्रमणविरुद्ध चीनले कडा नियम लगायो। त्यसले लामो समय चिनियाँ उद्योग-व्यापार प्रभावित भयो। कमजोर बनेको चिनियाँ अर्थतन्त्रमा अझैसम्म महामारीको असर अझै बाँकी छ।
‘चीनले पुन: व्यापार खोल्दा विश्वको अर्थतन्त्रमा सकारात्मकमा प्रभाव पर्ने इतिहास नदोहोरिने सम्भावना अधिक छ। दोहोरिए पनि प्रभाव अघिल्लो पटक जस्तो हुने छैन। किनकि व्यापक मौद्रिक कडाइको परिणाम विश्वव्यापी रुपमा माग सुस्त हुँदैछ,’ अमेरिकी बहुराष्ट्रिय इन्भेन्टमेन्ट कम्पनी मोर्गन स्टेनलीले गत बुधवार एक विज्ञप्तिमा उल्लेख गरेको थियो।

नोटमा विश्व आर्थिक वृद्धिदर यो वर्ष २.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। २०२२ मा अपेक्षित वृद्धिदर ३ प्रतिशत थियो। चालु वर्ष आर्थिक मन्दी टार्न लगाउनुपर्ने उपायमा शक्ति राष्ट्रहरुको बलियो आर्थिक नीति अझै प्रभावी देखिइसकेको छैन।
धेरै वर्ष कोभिडका कारण अपनाइएका प्रतिबन्धहरूले चिनियाँहरूलाई घरमा बस्न बाध्य तुल्याएको थियो। जसले गर्दा उनीहरु अतिरिक्त आम्दानी खर्च गर्नुको सट्टा बचतमा केन्द्रित भएका थिए। बेइजिङको ‘जीरो कोभिड’ नीतिले अवस्था झन् असहज बनाएको हो।
पिपुल्स बैंक अफ चाइनाको तथ्यांक अनुसार २०२२ मा चिनियाँहरुको निक्षेप १७.८ ट्रिलियन यूआन अर्थात् २.६ ट्रिलियन अमेरिकी डलरले वृद्धि भएको थियो। जुन २०२१ मा ९.९ ट्रिलियन यूआन बढेको थियो।
तर, महामारीको समयमा बन्द सेवा पुनः सुरु भएलगत्तै चिनियाँ उपभोक्ताले प्रशस्त खर्च गर्ने अपेक्षा गरिएको छ। वस्तुको सट्टा सेवामा हुने व्यापक खर्चले बाह्य क्षेत्र नभइ चीनको आन्तिरक वृद्धिलाई मात्र बढावा दिने देखिएको हो। जुन चीन-प्रेरित विश्वव्यापी वृद्धिमा दाउ लगाउनेहरुका लागि राम्रो संकेत होइन।
‘चिनियाँ अर्थतन्त्र तीव्र र बलियो ढंगमा पुनरागमन हुँदैछ। जसले गर्दा चीनको जीडीपी वृद्धिदर ५.७ प्रतिशतमा उक्लिने देखिएको छ,’ मोर्गन स्टेनलीले उल्लेख गरेको छ,’ ‘यद्यपि वस्तु भन्दा सेवा कम व्यापारयोग्य हुने भएकाले विश्वव्यापी व्यापारमा कम उतारचढाव अपेक्षा गर्न सकिन्छ।’

पश्चिमी मुलुकहरुमा घट्दै गएको मागले गर्दा विश्वव्यापी व्यापारमा गिरावट आएको छ। जसलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा, चिनियाँ घरेलु र लगानी खर्चको गतिले राहत दिने अपेक्षा समीक्षकहरुको हो।
तर, अझै पनि, विश्वभरका केन्द्रीय बैंकहरूले मौद्रिक नीतिमा गरेको कडाइ कायमै छ। मुद्रास्फीतिलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले नीतिगत दरहरु माथिल्लो तहमै राखेका छन्। जसले विश्व अर्थतन्त्रको बिस्तारमा दबाब कायम छ।
अहिलेको सबैभन्दा आक्रामक मौद्रिक कडाइलाई औंल्याउँदै, विश्व बैंकले हालै विश्व अर्थतन्त्र मन्दीमा नजिक भएको भन्दै विश्वव्यापी वृद्धि सुस्ताउने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय मुद्राकोषले पनि २०२३ मा विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुकहरु नै मन्दीमा जाने प्रक्षेपण गरेको छ।
चीनले एकातिर कोभिडविरुद्ध कडा नीतिका कारण आन्तरिक विरोध खेपेको छ भने अर्कातिर आर्थिक वृद्धिले एक्कासि तीव्र गति लने अपेक्षा गर्न सकिँदैन। तैपनि विश्वको ठूलो आर्थिक शक्ति मुलुक भएकाले चिनियाँ आर्थिक गतिविधिलाई विश्लेषकहरुले सतर्कतापूर्वक हेरेका छन्। (एजेन्सीहरुको सहयोगमा)