
काठमाडौं। मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी ७३ प्रतिशतले बढेको छ। बैंकले पुस मसान्तसम्मको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको हो। वित्तीय विवरण अनुसार बैंकको सबै सूचक सकारत्मक देखिएका छन्।
बैंकले पुस मसान्तसम्म २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। मेगा बैंकको पनि नाफा जोडिँदा बैंकको खुद ब्याज आम्दानीमा उछाल आएको हो। एकीकृत खुद नाफा पोहोरभन्दा २८.४४ प्रतिशतले बढेको छ। गत आवको पुसमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
संयुक्त कारोबारले गर्दा खुद ब्याज आम्दानीले फराकिलो फड्को मारेको छ। खुद ब्याज आम्दानी ७३.९३ प्रतिशतले बढेको हो।
बैंकले खुद ब्याज आम्दानी बापत ४ अर्ब १८ करोड रुपैयाँ बढी आर्जन गरेको छ। पोहोर २ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको थियो। यस्तै वित्तीय विवरण अनुसार संचालन मुनाफा २३.८९ प्रतिशतले बढेको छ। खुद फि आम्दानी पनि ४.१४ प्रतिशतले बढेको छ।
तर, संयुक्त कारोबारपछि बैंकको खराब कर्जा ह्वात्तै बढेको छ। पुससम्म ६० करोड ८३ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थापनबापत छुट्याएको हो। पोहोर बिग्रिएको कर्जाबापतको ४ करोड रुपैयाँभन्दा बढी रकम रिभर्सल भएको थियो। निष्क्रिय कर्जा पनि २.०६ प्रतिशतबाट ३.७१ प्रतिशत पुगेको छ।
उल्लेख्य नाफाका बाबजुद बैंकको वितरणयोग्य नोक्सानी भने एक अर्ब ६० करोड रुपैयाँ नाघेको छ। पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब र जगेडा कोषमा २३ अर्ब ५५ करोड सञ्चित छ।
सो अवधिमा बैंकको प्रति सेयर आम्दानी १५.६१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६४.९१ रुपैयाँ छ।