नेपालको इभी बजारमा प्रतिस्पर्धा बढ्दो, ग्रेटवाल मोटर्सको ओरा गुड क्याट पनि आउने तयारीमा

बिजमाण्डू
२०७९ माघ ११ गते १६:२२ | Jan 25, 2023
नेपालको इभी बजारमा प्रतिस्पर्धा बढ्दो, ग्रेटवाल मोटर्सको ओरा गुड क्याट पनि आउने तयारीमा


काठमाडौं। चीनको ग्रेट वाल मोटर्सले नयाँ विद्युतीय गाडी ओरा गुड क्याट पनि केही महिनामै नेपाल ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

यसको आधिकारिक बिक्रेता बिशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले यो गाडी नेपाल ल्याउन लागेको हो। यसअघि नै ल्याउने तयारी भएपनि आपूर्तिमा समस्या भएका कारण तोकिएको समयमा यो गाडी बिक्रेता कम्पनीले नेपालमा ल्याउन सकेन।

उत्पादक कम्पनी सुरुवाती समयमा धेरैजसो यूरोपेली देशहरुमा केन्द्रित थियो। अब भने उत्पादक कम्पनीले सहजता कायम गरिदिएकाले केही महिनामै नयाँ गाडी नेपाल आइपुग्ने कम्पनीका मार्केटिङ प्रमुख पंकज यादवले बताए।

‘लामो समयको अन्तरालपछि हामीले यो गाडी नेपाल ल्याउन लागेका छौं।,’ उनले भने, ‘विश्व अटोमोबाइल सबै विद्युतीयमा गएका छन्। त्यसैले हामीले पनि ग्रेटवाल मोटर्सको नयाँ विद्युतीय गाडी नेपाली बजारमा ल्याउने तयारी गरेका हौं।’

नेपालमा अटो क्षेत्रको बजार त्यसमा पनि विद्युतीय सवारीको बजार अन्य देशमा भन्दा ३० प्रतिशतले बढेको उनले बताए। हाल नेपालमा इन्धन सवारीमा भन्दा तीन गुणा विद्युतीय गाडीहरु बिक्री हुने गरेको उनको भनाइ छ।

‘यस कारण पनि हामी विद्युतीय गाडीलाई सकेसम्म छिटो नेपाल ल्याउने तयारीमा जुटेका हौं,’ उनले भने, ‘आगामी मार्च भित्र हामी गाडी ल्याउँदैछौं। नेपालमा आउने यो गाडी थाई भेरियन्ट हुनेछ।’

यस गाडीले युरो एनक्याप टेष्टमा फाइभ स्टार हासिल गरेको यादबले बताए।

‘थाइल्याण्डमा बुकिङ खोलिएको २४ घन्टाभित्रै ६ हजार युनिट गाडी ग्राहकले बुकिङ गरेका थिए,’ उनले भने, ‘त्यसैले सुरुवाती समयमा डोमेस्टिक बजारमा नै गुड क्याटको माग पुर्याउन कम्पनीले सकेन। हामी पनि यही भेरियन्ट नेपाल ल्याउन उत्साहित छौं।’

इभी बजारमा बढ्दो प्रतिस्पर्धा

नेपालमा पछिल्लो समय धेरै ग्राहकहरु विद्युतीय गाडी खरिदतिर लागेका छन्। यसमा पनि आम नागरिकले खरिद गर्न सक्ने सस्तो मूल्यका इभी धेरैको रोजाइ बनेको छ। नेपालमा विद्युतीय गाडीको बजार थप प्रतिस्पर्धात्मक हुँदै गएको अटो व्यवसायीहरु बताउँछन्।

हाल नेपालमा टाटा, हुन्डाई, बिवाइडी, निसान, नेटा भि, वुलिङ एयर इभी, एमजी लगायतका विद्युतीय गाडीहरुको बजार हिस्सा धेरै छ।

ग्रेट वाल मोटर्सको ओरा गुड क्याट पनि नेपाली ग्राहकले लामो समयदेखि कुरेर बसेको गाडी हो। त्यसैले पनि कम्पनीले यसको मूल्य कसरी निर्धारण गर्छ र सप्लाई चेनको समस्या कसरी समाधान गर्छ भन्ने कुरामा यसको बजार निर्भर हुनेछ।

नेपालमा यस्ता साना साइजका विद्युतीय गाडीहरु एकैपटक धेरै कम्पनीले सार्वजनिक गर्दैछन्। टाटाको टियागो इभी र सिट्रोनको ई-सी ३ केही महिनामै नेपाल आउँदैछन्। यस्तै वुलिङले नेपालमा बिक्री सुरु गरिसकेको छ।

कम्पनीका अनुसार ओरा गुड क्याटको सुन्दर बनावटले सजिलै मानिसहरुको ध्यान तान्छ। यसमा भएका फिचरहरुले गर्दा यो ग्राहकको रोजाइ बन्न सक्ने कम्पनीको भनाइ छ। नेपाली सडकमा हाल कुदिरहेका विद्युतीय गाडीहरुको भन्दा फरक लुकमा यसलाई निर्माण गरिएको यादवले जानकारी दिए।

कस्तो छ ओरा गुड क्याट?

कम्पनीले परीक्षण गर्नका लागि ओरा गुड क्याटका तीनवटा भेरियन्ट नेपाल ल्याएको थियो। गुडक्याट ४०० टेक, गुड क्याट ४०० प्रो र गुड क्याट ५०० अल्ट्राको नेपालमा परीक्षण भैसकेको छ। यो नेपाली भूगोल सुहाउँदो गाडी भएको कम्पनीले बताएको छ। यी तीन मोडलका गाडी नै आगामी दिनमा नेपाल आउनेछन्।

ओरा टेकमा सन रुफ छैन भने अन्य दुई भेरियन्ट प्रो र अल्ट्रामा सनरुफ राखिएको छ। 

ओरा टेक र प्रोमा ४७.७८ किलोवाट र ओरा अल्ट्रामा ६३.१३ किलोवाट क्षमताको ब्याट्री छ। उक्त ब्याट्रीले एक पटकको चार्जमा ४०० देखि ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दावी छ।

फास्ट चार्जरबाट चार्ज गर्दा ४० मिनेटदेखि १ घन्टामा ८० प्रतिशत चार्ज हुन्छ। आफ्नै घरमा भएको एसी चार्जरले चार्ज गर्दा ८ देखि १० घण्टाको समय लाग्छ।

यसमा भएको मोटरले २१० एनएम टर्क उत्पादन गर्छ।

यसमा अटोमेटिक एसी, सेन्ट्रल लक, रिमोट लक, कि-लेस स्ट्राटसम्मका फिचरहरु छन्। यसैगरी रियर भ्यू क्यामेरा, टायर प्रेसर सिस्टम, एबीएस, ईबीडी, हिल स्टार्ट एसिस्ट, ब्लाइन्ड स्पोट एसिस्टलगायतका फिचरहरु छन्। साथै भ्वाइस कन्ट्रोल, एलईडी स्टुमेन्ट प्यानल, ब्लुटुथ सिस्टम पनि छ।

यसैगरी अन्य सुरक्षाको फिचरहरुमा फ्रन्ट एयरब्यागको व्यवस्था गरिएको छ। यसमा २२८ लिटरको बुट स्पेस छ भने यसलाई पछाडिको सिटलाई फोल्ड गरी बुट स्पेस बढाउन पनि सकिने कम्पनीले जनाएको छ। यसमा ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ।

यो गाडीको मूल्य ४० लाखको हाराहारी पर्ने अनुमान गरिएको छ। कम्पनीले हालसम्म नेपालका लागि मूल्य तोकिसकेको छैन।