मधेस प्रदेशमा कारबाहीमा परे एक लाख ४६ हजार सवारी साधन, कति उठ्यो राजस्व?

बिजमाण्डू
२०७९ माघ १० गते १२:४४ | Jan 24, 2023
मधेस प्रदेशमा कारबाहीमा परे एक लाख ४६ हजार सवारी साधन, कति उठ्यो राजस्व?

वीरगंज। मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ लाख ४६ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन्।

Tata
GBIME
Nepal Life

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा १ लाख ४६ हजार १ सय ८० वटा सवारीसाधनमाथि कारबाही गरेको हो। सवारीसाधन माथिको कारबाहीबाट १० करोड ७७ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सीसीटीभी र राडर स्पिड गनबाट सवारीको गति निगरानी गरिरहेको छ। पथलैया कार्यालयका अनुसार तीव्र गतिमा चलाइएका कार/जिप २ हजार ६ सय ६४ वटा कारबाहीमा परेका छन्।

साथै यात्रुबाहक बस, मिनीबस र सुमो ८ सय २१, मोटरसाइकल ३ सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक, ट्रयाक्टर ३ सय २५ वटा गरी ४ हजार १ सय ४९ वटा सवारी कारबाहीमा परेको कार्यालय प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भई मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ।

यस अवधिमा प्रदेशका जिल्लामा भएका २ हजार ८ सय ७६ सवारी दुर्घटनामा ३ सय ९ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा बढी बारामा ६५ र कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। रासस