ट्‍वीटरमा घटे ८० प्रतिशत कर्मचारी, फूल टाइम इन्जिनियर अब केवल ५५० मात्रै

बिजमाण्डू
२०७९ माघ ९ गते १३:५७ | Jan 23, 2023
ट्‍वीटरमा घटे ८० प्रतिशत कर्मचारी, फूल टाइम इन्जिनियर अब केवल ५५० मात्रै

काठमाडौं। ट्‍वीटरमा पूर्णकालीन कर्मचारीको संख्या निकै घटेको छ। इलन मस्कले खरिद गरेदेखि टेक जायन्टको करिब ८० प्रतिशत कर्मचारीहरू कटौती गरिसकेका छन्। 

Tata
GBIME
Nepal Life

ट्‍वीटरमा हाल जम्मा १ हजार ३ सयजना सक्रिय फूल टाइम कर्मचारीहरू कार्यरत छन्। जसमध्ये इन्जिनियरको संख्या केवल ५५० मात्रै छ। 

ट्‍वीटरका सबै प्रयोगकर्ताहरूलाई सुरक्षित राख्‍ने उद्देश्यका साथ नीति सिफारिसहरू, डिजाइन र उत्पादनहरू परिवर्तन गर्ने ट्रस्ट एण्ड सेफ्टी टिममा मात्र २० भन्दा कम फूल टाइम कर्मचारीहरू छन्।

आन्तरिक रेकर्डका अनुसार ट्‍वीटरका करिब १,४०० काम नगर्ने कर्मचारीहरू अझै तलब बुझिरहेका छन्। तर, यस सामाजिक सञ्जाल कम्पनीमा आफ्नो पुरानो जिम्मेवारी पुरा गर्ने अपेक्षा गरिएको छैन।

जस अनुरूप उनीहरूमध्ये धेरैले राजीनामा दिइसकेका छन्। सीईओ मस्कले उनीहरूलाई ट्‍वीटर २.० मा आबद्ध गराउने समय बढाउँदै ‘हार्डकोर’ काम गर्न ‘आग्रह’ गरेसँगै धेरैले राजीनामा दिएका हुन्।

सीएनबीसीले प्राप्त गरेको आन्तरिक रेकर्डको खण्डन गर्दै मस्कले ट्‍वीटरमा अहिले करिब २ हजार ३ सय फूल टाइम कर्मचारी र हजारौं करार कर्मचारीहरू रहेको दाबी गरेका छन्। यसमा ट्‍वीटरले हालसम्म केही स्पष्टीकरण दिएको छैन।

मस्कको व्यवस्थापन अन्तर्गत, ट्‍वीटरले कर्मचारी संख्या कटौतीसँगै थुप्रै परिवर्तनहरू गरेको छ। मस्कले पूर्व सीईओ ज्याक डोर्सीको नेतृत्वमा राखिएको ‘वर्क फ्रम होम’ नीतिको अन्त्य पनि गरेका थिए। यसले गर्दा धेरैलाई राजीनामा गर्न बाध्य तुल्यायो। 

मस्कले गतवर्ष ट्‍वीटर खरिद गर्नुअघि लगभग ७ हजार ५ सय जना कर्मचारी थिए। मस्कको नेतृत्व अन्तर्गत ट्‍वीटरको कर्मचारी संख्या कटौती हुने धेरैको अनुमान थियो। अनुमानभन्दा बढी संख्यामा कर्मचारी कटौती गरिएको छ। आन्तरिक रेकर्डहरूका अनुसार कम्पनीले लगभग ८० प्रतिशत कर्मचारी कटौती गरिसकेको छ।

कम्पनीबाट राजीनामा दिएका एक इन्जिनियरका अनुसार कर्मचारीको कमीले ट्‍वीटरमा नयाँ सुविधाहरू निर्माण गर्दा पनि सेवालाई भरपर्दो रूपमा कायम राख्‍न गाह्रो हुने भएको छ।

उनका अनुसार कम्पनीको कोड बेस ठूलो छ, र मुख्य टाइमलाइन, विज्ञापन सेवाहरू लगायतका विभिन्न भागहरू कायम राख्‍न विभिन्न प्लेटफर्महरू र प्रोग्रामिङ भाषाहरूको ज्ञान चाहिन्छ। यति धेरै संस्थागत ज्ञान गुमाएपछि इन्जिनियरहरूलाई तालिम दिन गाह्रो हुनेछ।

लगभग १,३०० फूल टाइम काम गर्ने कर्मचारीहरू बाहेक, मस्कले टेस्ला, द बोरिङ कम्पनी लगायत आफ्ना अन्य व्यवसायहरूबाट करिब १३० जनालाई ट्‍वीटरका लागि पनि काम गर्न लगाएका छन्।

ट्‍वीटर खरिदपछि, मस्कले टेस्लाबाट विचलित भएको, ट्‍वीटरमा आफ्नो रणनीतिको कारण राजनीतिक विवाद खडा गरेको र आफ्नो ट्‍वीटर अधिग्रहणका लागि आफ्नो टेस्लाको अर्बौं डलरको सेयर बेचेकोमा सेयरधनीहरूको भनाइ सुन्नु परेको छ।