अधिकांश विकास बैंकको नाफा घट्यो, दुई विकास बैंक नोक्सानीमा, कसको नाफा कति ?

बिजमाण्डू
२०७९ माघ ९ गते ०८:४८ | Jan 23, 2023
अधिकांश विकास बैंकको नाफा घट्यो, दुई विकास बैंक नोक्सानीमा, कसको नाफा कति ?


काठमाडौं। चालु आर्थिक वर्षको अर्धवार्षिक अर्थात दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रस्तुत गरेका  राष्ट्रियस्तरका विकास बैंकहरु मध्य अधिकांशको नाफा घटेको छ।

Tata
GBIME
Nepal Life

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पाँच विकास बैंकहरुको नाफा २५ प्रतिशत भन्दा बढीले घटेको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुले २ अर्ब ५६ करोड खुद नाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधीभर बैंकहरुले खुद नाफा वापत ३ अर्ब १९ करोडभन्दा धेरै आर्जन गरेका थिए। समीक्षा अवधिभर विकास बैंकहरुको नाफा १९ प्रतिशतले घटेको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरु मध्ये पाँच बैंकहरुले मात्र नाफा बढाएका छन्। यस अवधिसम्म नाफा बृद्धि गर्ने बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक , शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक रहेका छन्।

यस अवधिसम्म आउँदा कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा २७९ प्रतिशतले बढेको छ। समीक्षा अवधिभर विकास बैंकले १ करोड १७ लाख बढी खुद नाफा आर्जन गरेको हो। गत वर्षको सोही अवधिमा बैंकले ३० लाख ९९ हजार खुद नाफा आर्जन गरेको थियो।

यस्तै यस अवधिमा ग्रीन डेभलपमेन्ट बैंकको नाफा ५६.७१ प्रतिशतले बढेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २३.१८ र मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशत र गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले  बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कर्णाली डेभलपमेन्ट बैंकले १ करोड ६३ लाख ७१ हजार नाफा आर्जन गरेको छ। गत वर्ष यस अवधिमा बैंकको नोक्सानी १ करोड ६३ लाख ९६ हजार रहेको थियो।  

दुई विकास बैंक नोक्सानीमा

पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरु मध्ये दुई विकास बैंक नोक्सानीमा रहेका छन्। जसमध्ये नोक्सानी व्यहोर्ने बैंकहरुमा नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन्।

नारायणी डेभलपमेन्ट बैंकको नोक्सान गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७७.२१ प्रतिशतले बढेको छ। वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ६६ लाख बढी नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको नोक्सानी ५९ लाख बढी थियो।

यस्तै सिन्धु विकास बैंकले पनि चालु आर्थिक वर्षको ६ महिना सम्म १ करवड ८७ लाखभन्दा बढी नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सो अवधिसम्म बैंकले ३ करोड ५५ लाख बढी मुनाफा आर्जन गरेको थियो।