चीनमा सन् २०२२ को आर्थिक वृद्धि आधा शताब्दी यताकै ‘दोस्रो खराब अवस्था’ 

बिजमाण्डू
२०७९ माघ ३ गते १९:०५ | Jan 17, 2023
चीनमा सन् २०२२ को आर्थिक वृद्धि आधा शताब्दी यताकै ‘दोस्रो खराब अवस्था’ 

काठमाडौं। चीनको गत वर्षको आर्थिक वृद्धि ३ प्रतिशतमा सीमित भएको छ। सन् २०२२ मा चीनको आर्थिक वृद्धि झण्डै आधा शताब्दी यताकै दोस्रो सबैभन्दा नराम्रो अवस्थामा पुगेको छ।

Tata
GBIME
Nepal Life

आधिकारिक तथ्यांक अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा ३ प्रतिशतले मात्र बढेको छ। यो चीन सरकारले लिएको ५.५ प्रतिशतको लक्ष्यभन्दा निकै कम हो भने धेरै अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा केही राम्रो हो।

चीनमा तीव्र रूपमा फैलिदै गएको कोभिडलाई नियन्त्रण गर्न अपनाएको शून्य कोभिड नीति तथा घरजग्गा व्यवसायको गिरावट लगायतका कारणहरूले चीनको अर्थव्यवस्था मारमा परेको हो। चीनभर लागु गरिएको कडा कोभिड प्रतिबन्धले व्यवसायहरूलाई ठूलो असर गरिरहेको छ।

चौतर्फी विरोध तथा प्रदर्शन भएपछि गत महिना बेइजिङले आफ्नो कडा शून्य-कोभिड नीति खारेज गरेको थियो।

यस नीतिले गत वर्ष देशको आर्थिक गतिविधिमा ठूलो प्रभाव पारेको थियो। तर, एकाएक प्रतिबन्धहरू खुकुलो पार्दा चीनमा कोभिड केसहरू फेरि बढ्न पुग्यो। यसबाट कोभिडका कारण हुने मृत्युको संख्या पनि निकै वृद्धि भएको छ।

यसैकारण सन् २०२३ को प्रारम्भिक महिनाहरूमा पनि आर्थिक वृद्धि खुम्चिने जोखिम छ।

सन् २०२० मा महामारीको सुरुमा बाहेक, गत वर्षको आर्थिक वृद्धि सन् १९७६ मा जनवादी गणतन्त्र चीनका संस्थापक अध्यक्ष माओत्सेतुङको मृत्युपछि सबैभन्दा कमजोर थियो।

‘तथ्यांक हाम्रो अपेक्षा भन्दा बलियो आयो। यद्यपि, यसले चिनियाँ अर्थतन्त्रलाई गत वर्षको शून्य-कोभिड नीति र सम्पत्ति बजारको गिरावटबाट परेको कडा असरलाई प्रकट गर्दछ,’ बीएनपी पारिबास बैंकका उप-चीन अर्थशास्त्री ज्याक्लिन रोङले बताइन्।

चीनले जीडीपी तथ्यांकसँगै खुद्रा बिक्री र डिसेम्बरको कारखाना उत्पादन लगायतका अन्य चिनियाँ आर्थिक तथ्यांक पनि जारी गरेको छ। यी तथ्यांकहरुले पनि चीनको बजारको अपेक्षालाई पूरा गर्न सकेन। तर विश्लेषकहरूले चीनभरि समग्र आर्थिक आवेग कमजोर रहेको टिप्पणी गरेका छन्। 

‘यो अर्थतन्त्रको लागि नराम्रो खबर होइन। गत वर्षको अन्त्यतिर संक्रमणको वृद्धिको बावजुद घरायसी खपत राम्रोसँग कायम भएको जस्तो देखिन्छ,’ भ्यानगार्ड लगानी फर्मका कियान वाङले भनिन्।

‘हामी सन् २०२३ मा बलियो गतिका साथ अघि बढिरहेका छौं। यसले आर्थिक वृद्धिमा धेरै सुधार ल्याउनेछ,’ उनले थपिन्।

यद्यपि अर्थशास्त्रीहरूले हालैका महिनाहरूमा वृद्धिमा असर पार्ने धेरै मुद्दाहरूलाई औंल्याउँदै विश्व अर्थतन्त्रको अवस्थाबारे बारम्बर चेतावनी दिँदै आएका छन्।

गत हप्ता मात्रै विश्व बैंकले नै विश्वव्यापी अर्थतन्त्रमा मन्दी देखिने प्रक्षेपण गरेको थियो।

प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले युक्रेन र रूसबीच चलिरहेको युद्ध, कोरोना महामारीको प्रभावबाट उत्पन्न विविध कारण, उच्च ब्याजदरका कारण विश्व अर्थतन्त्रमा संकट आएको जनाएको छ। 

विश्व बैंक अनुसार अमेरिका, युरोपेली देशहरू (यूरोजोन) र चीन – आर्थिक वृद्धिका लागि विश्वका तीन सबैभन्दा प्रभावशाली क्षेत्रहरू सबै स्पष्ट रूपमा कमजोर अवधिबाट गुज्रिरहेका छन्। जस कारण गरिब देशहरूले सामना गर्ने समस्याहरू झन-झन बिग्रँदैछ।

सोमबार, चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले जारी गरेको तथ्यांकले डिसेम्बरमा लगातार पाँचौं महिनामा नयाँ घरहरूको मूल्य घटेको देखाएको छ। सन् २०२२ को अन्तिम महिनामा मूल्यहरू एक महिना अघिको तुलनामा ०.२ प्रतिशतले घटेको छ। 

गत हप्ता, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बेइजिङलाई आफ्नो अर्थव्यवस्था पुन: खोल्न जारी राख्‍न आग्रह गरेकी थिइन्।

‘हाल चीनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अर्थव्यवस्था पुन: खोल्नु हो,’ जर्जिएभाले भनिन्।

‘यदि उनीहरू यही चरणमा रहे भने, यस वर्षको मध्यतिर वा त्यस समय वरपर, चीन औसत विश्वव्यापी वृद्धिमा सकारात्मक योगदानकर्तामा परिणत हुनेछ,’ उनले थपिन्।

एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सका प्रमुख अर्थशास्त्री याटिंग सुले चीनले अर्थतन्त्र पुन: खुलाएदेखि चिनियाँ उपभोक्ता गतिविधिमा क्रमिक सुधारको संकेत देखेकी छन्। (बीबीसीबाट साभार)