
काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट तथा डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले अहिलेसम्म १९ अर्ब ५४ करोड रुपैयाँ लगानी बराबरको ऋण तथा सेयर लगानी स्वीकृत गरेको छ।
२८११ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत गरिएको हो। स्वीकृत भएको कुल रकममध्ये १० अर्ब १९ करोड रुपैयाँ लगानीको भुक्तानी गरिसकेको छ।
जसमध्ये कम्पनीबाट ९४२ मेगावाट क्षमताका १४ वटा विभिन्न जलविद्युत आयोजनाहरुमा १० अर्ब ८६ करोड रुपैयाँ ऋण लगानीको प्रतिवद्धता भएको थियो। हालसम्म ८ अर्ब ४ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ।
त्यस्तै कम्पनीले जलविद्युत क्षेत्रसँग सम्बन्धित ४ वटा विभिन्न कम्पनीहरुमा ९२ करोड ३० लाख रुपैयाँ स्वपूँजी लगानी प्रतिवद्धता गरेको थियो। जसमध्ये ३५ करोड ९९ लाख रुपैयाँ लगानी गरिसकेको छ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले बताए।
एचआइडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७७.५ मेगावाटको घुन्साखोला तथा सिम्बुवा रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७०.३ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा छ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएपश्चात आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रबन्ध गरी निर्माण कार्य अघि बढाइने गौतमको भनाइ छ। दुवै नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका आयोजना हुन्। प्राधिकरणले साढे तीन वर्षदेखि कोटा सकिएको भन्दै पीपीए रोकेको छ। सोही कारण दुई आयोजनाले गति लिन सकेका छैनन्।
कम्पनीले विद्युत उत्पादन कम्पनी लिमिटेडबाट प्रवर्द्धन हुने ४८० मेगावाटको फुकोट कर्णालीमा स्वपूँजीको १० प्रतिशत लगानीको प्रतिबद्धता जनाएको छ। १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा पनि स्वपूँजीको १० प्रतिशत लगानीको प्रतिबद्धता गरेको छ।
गौतमका अनुसार अहिलेसम्म निजी क्षेत्रबाट प्रवर्द्धित १८८.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत आयोजनाहरुमा १ अर्ब ७१ करोड रुपैयाँ स्वपूँजी लगानी स्वीकृत भएको छ। सोमध्ये १ अर्ब १६ करोड रुपैयाँ लगानी प्रवाह भइसकेको छ।
कम्पनीमा रणनीतिक साझेदार, सरकारी क्षेत्र तथा निजी क्षेत्रबाट अगाडि बढाइएका ३११४ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनाहरुमा करिब ७० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीका लागि प्रस्तावहरु प्राप्त भएको छ। ती आयोजनाहरुको अध्ययन तथा मूल्यांकनका कार्यहरु भइरहेको गौतमले बताए। सबै हिसाबले फिजिबल आयोजनाहरुमा लगानी गर्दै जाने उनको भनाइ छ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतका दरले (१ अर्ब ६ करोड ३८ लाख १३ हजार ३ सय ७५ रुपैयाँ) बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। चुक्ता पूँजीको ०.२६३ प्रतिशतका दरले ५ करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी २१ अर्ब रुपैयाँ रहेको छ। बोनस सेयर वितरणपछि २२ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।