
काठमाडौं। सोलुखुम्बुमा जलविद्युत आयोजना थपिने भएको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १४.५० मेगावाटको बुदुम खोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।
आयोजना सोलुखुम्बुको महाकुलुङ गाउँपालिका भएर बग्ने बुदुम खोलामा निर्माण हुनेछ। विद्युत विकास विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ। यो आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन अध्ययन भइसकेको छ।
प्रस्तावित यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हो। जसको डिजाइन वहाब २.६६ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ६३४.८० मिटर रहेको छ। आयोजनाले वार्षिक सरदर ८५.५७ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन गर्नेछ।
मुख्य संरचनाहरु बुदुम खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ। खोलामा बाँध बाधेर खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काएर सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु ग्राभेल ट्रयाप, एप्रोच क्यानल, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज टंयाक, पेनस्टक पाइप हुदै विद्युत गृहमा लगिनेछ।
विद्युत उत्पादन भएपछि करिब ८६ मिटरको टेलरेस क्यानल मार्फत पानीलाई होङगु खोलामा पठाइनेछ। १३२ केभी क्षमताको २६ किमी प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको तिङला सबस्टेसनमा जोडिनेछ।
यो आयोजनाबाट २०८३ चैत १ गते विद्युत उत्पादनको लक्ष्य छ।