
काठमाडौं। मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत रविनादेशराज श्रेष्ठले राजीनामा गरेकी छन्।
उनको राजीनामा स्वीकृतिपछि बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तुलसीराम पोखरेललाई दिएको छ। उनले पुस ९ गतेबाट नयाँ जिम्मेवारी सम्हाल्न सुरु गरिसकेका छन्।
मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिँदैछ। पुसभित्रै एकीकृत कारोबार गर्ने गरी तयारी भइरहेको छ। यहीबीच श्रेष्ठले राजीनामा दिएकी हुन्।
तत्कालिन नेपाल ग्रिण्डलेज (अहिले स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेकी श्रेष्ठ नबिल हुँदै मेगा बैंक पुगेकी हुन्।
पोखरेल मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धक हुन्। उनी मेगा क्यापिटलको सञ्चालक समितिमा समेत छन्।
मर्जरपछि नयाँ बैंकको वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मा श्रेष्ठलाई दिने सहमति भएको थियो। बीचमै उनले जागिर छाडेपछि मेगा बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीलाई ल्याउने तयारी भइरहेको छ।
श्रेष्ठ भने मुम्बई 'सिफ्ट' हुने योजनामा छिन्।