काठमाडौं। १९ किलो सुनसहित सुडानका एक नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुडानको राहदानीबाहक मोहम्मद अहमद डाफल्ला सराफलदिन पक्राउ परेका हुन्।
सेतो लिक्विड बनाएर बेल्ट जसरी कम्मरमा बाधेर ल्याएका उनलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालय चेकजाँच गर्दा सुन भेटेपछि पक्राउ गरिएको हो।
प्रारम्भिक रुपमा सुन भएको अनुमान गरिएको विमानस्थलका प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठले बताए। 'अहिले हेर्दा सुन जस्तो देखिएको छ। अनुसन्धानपछि के हो भन्ने खुल्ला।,' उनले भने,' ती व्यक्तिले अरबिक भाषा बोल्ने रहेछन्।'
उनी १५ दिनको टुरिष्ट भिसामार्फत नेपाल आएका थिए।
उनी फ्लाइ दुबइ (फ्लाइट नम्बर एफ जेड ५३५) हुँदै त्रिभुवन विमानस्थल आएका थिए। उक्त फ्लाइट करिब २:१५ मा ल्याण्ड भएको थियो। 'वाक थ्रु' मार्फत फ्लाइटमा आउनेहरुको चेकजाँच हुने गर्छ। विमानस्थलमा खटिएका व्यक्तिलाई देखेपछि उनी डराएका थिए भने 'वाक थ्रु' मा साइरन समेत बजेको थियो। त्यसपछि उनको थप चेकजाँच गर्ने क्रममा सुन ल्याएको भेटिएको हो।
'कर्मचारी देख्दा डराएपछि हामीलाई शंका लाग्यो। मैले भित्र लगेर थप चेक गर्दा १९०० ग्रामका १० वटा प्याकेट बनाएर कम्मरमा बेल्ट जसरी बाँधेको भेटे।,' उनले भने,'हामीले अहिले नियन्त्रण लिएर यहाँको प्रक्रिया पूरा गरेर थुनाको लागि गौशाला प्रहरी वृत्त पठाएका छौं।'
थप आवश्यक अनुसन्धान गरेपछि किन र के प्रयोजनका लागि ल्याएको खुल्ने बताइएको छ। ती व्यक्तिलाई सरकारी मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरिनेछ। उक्त अधिकारीले मुद्दा हालेपछि अदालतले गर्ने निर्णयका आधारमा कारबाही हुनेछ।