
विराटनगर। विराटनगरका प्रदीप मुरारका र दिनेश राठीसहित केही व्यवसायी नयाँ सरकार नबन्दै १० हजार टन पोस्तादानाको आयातका लागि लाइसेन्स लिने कसरतमा छन्।
केही गरी उनीहरूले लाइसेन्स पाए भने १० हजार टन पोस्तादानामा १५ अर्ब रुपैयाँ फाइदा गर्ने देखिन्छ। मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनका अनुसार पोस्तादानाको आयात टर्कीबाट गरिन्छ। टर्कीमा अहिले यसको निर्यातमूल्य(सीआईएफ कोलकाताको) प्रति टन २ हजार ८ सय डलर छ। नेपालमा हाल एक डलरको मूल्य १३२ रुपैयाँ छ।
यो हिसाबले टर्कीबाट कोलकातासम्म १० हजार टन पोस्ता दाना ल्याइपुर्याउँदा नेरु ३ अर्ब ६९ करोड ६० लाख खर्च हुन्छ। त्यस्तै सो पोस्ता दाना कोलकाता बन्दरगाहबाट विराटनगरको गोदामसम्म ल्याउँदाको ढुवानीको खर्च ६ करोड ५० लाख रुपैयाँ लाग्छ। पोस्तादानाको मूल्यमा कोलकाता–विराटनगरको ढुवानी भाडा जोड्दा ३ अर्ब ७६ करोड १० लाख हुन्छ। यसमा भन्सार कार्यालयले १० प्रतिशत महसुल लिन्छ। सो दरले महसुलको रकम ३७ करोड ६१ लाख हुन्छ।
अब पोस्ताको मूल्य ३ अर्ब ७६ करोड १० लाखमा महसुलको रकम ३७ करोड ६१ लाख रुपैयाँ जोडेर भन्सार कार्यालयले फेरि भ्याट लिन्छ। यो हिसाबले मूअकरको रकम ५३ करोड ७८ लाख २३ हजार रुपैयाँ हुन्छ। यसरी कोलकातासम्मको ढुवानी खर्चसहित ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ परेको १० हजार टन पोस्ता दानाको भन्सार महसुल र भ्याट जोड्दा ९१ करोड ३९ लाख २३ हजार हुन आउँछ। यही रकम सरकारले राजस्वबापत प्राप्त गर्ने हो।
सो पोस्ताको टर्की बन्दरगाहदेखि भन्सार विन्दुसम्मको परल मूल्य ३ अर्ब ७६ करोड १० लाख र तिरिएको कुल राजस्व ९१ करोड ३९ लाख २३ हजार रुपैयाँ जोड्दा ४ अर्ब ६७ करोड ४९ लाख २३ हजार रुपैयाँ हुन्छ। यसरी १० हजार टन पोस्ता आजका मितिमा टर्कीदेखि विराटनगरको गोदामसम्म ४ अर्ब ६७ करोड ४९ लाख २३ हजार रुपैयाँमा आइपुग्छ।
व्यवसायी जैनले बिजमाण्डूसँग भने, ‘यो हिसाबले १ किलो पोस्ता दाना टर्कीदेखि विराटनगरको गोदामसम्म आइपुग्दा ४६७ रुपैयाँ ५० पैसामा आइपुग्छ। भारतमा १ किलो पोस्तादानाको होलसेल मूल्य नेरु २ हजारभन्दा बढी छ। यो हिसाबले नेपालको आयातकर्ताले १ किलो पोस्तादानाबाट १ हजार ५ सयभन्दा बढी आर्जन गर्नसक्ने देखिन्छ। र, मागिएको १० हजार टनमा व्यवसायीलाई १५ अर्बको फाइदा पुग्नेछ।’
सरकारले पोस्तादानाको भन्सार महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्ने हो भने १० हजार टनको आयातमा राज्यलाई १० अर्बभन्दा बढी फाइदा हुने देखिएको छ। वर्तमान दरबन्दीअनुसार १० हजार टन पोस्ता दाना आयात गर्दा राज्यलाई करिब १ अर्ब मात्र राजस्व आउने देखिन्छ ।
पूर्वका व्यवसायीले पोस्ता दानाको भन्सार महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्न माग गरेका हुन्। हाल यसको आयात–महसुल १० प्रतिशत र भ्याट छ।
जैनले सरकारले पोस्ता दानाको आयात महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गरेपनि नेपालका आयातकर्ता फाइदामा हुने जिकिर गरे।
केही व्यवसायी नयाँ सरकार गठन हुनुअगावै अहिलेको सरकारलाई प्रभावमा पारेर १० हजार टन पोस्ता दानाको आयातका लागि अनुमतिपत्र हात पार्न कसरत गरिरहेका छन्।
‘सबैलाई लाइसेन्स देऊ’ व्यवसायी
यही वेला पूर्वका व्यवसायीले सरकारले आयात गर्न चाहने सबै व्यवसायीलाई अनुमतिपत्र दिनुपर्ने माग गर्दै यसको भन्सार महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्न सुझाव दिएका हुन्।
जैनले थपे, ‘सरकारले यही पोस्ता दानाको आयात महसुल भ्याटसहित प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्ने हो भने १० हजार टन पोस्तादानामा १० अर्बभन्दा बढी राजस्व प्राप्त गर्नेछ। यसमा व्यवसायीलाई पनि कुनै घाटा छैन।’‘आखिर यहाँ आएको पोस्तादाना ९५ प्रतिशतभन्दा बढी तस्करी भएर भारत नै पुग्ने हो’, उनले भने, ‘त्यहाँको होलसेल बजारमा पोस्ताको मूल्य किलोको नेरु २ हजार र खुद्रामा २ हजार ५ सय छ।’
अर्का आयातकर्ता पंकज दुगडले पनि चाहनेजति सबै व्यवसायीले पोस्तादानाको आयात गर्न पाउनुपर्ने माग गरे। ‘आफूले चाहेको र कानुनबमोजिमको उद्योगव्यवसाय गर्न पाउने अधिकार नेपालका हरेक नागरिकमा निहित छ’, दुगडले भने, ‘त्यसैले कुनै पनि वस्तुको आयात र व्यवसायमा सीमित वर्ग वा समूहलाई मात्र प्राथमिकता दिएर पोस्ने काम सरकारले गर्न मिल्दैन।’
व्यवसायी हेमकरण दुगडले पनि सीमित समूहलाई पोस्ता दानाको आयातको अनुमति दिनु उदार अर्थतन्त्र विपरित हुने बताए। व्यवसायी दुगडले भने, ‘देशमा ५–७ जना मात्र व्यवसायी छैनन्। हरेक सरकारले उनीहरुलाई मात्र पोस्नु दुःखको विषय भएको छ। आफूलाई लोकतान्त्रिक भन्ने सरकारले लोकतन्त्रको मर्यादा ननाघ्ने गरी काम गर्नुपर्छ। त्यसैले चाहनेजति सबैले पोस्तादानाको आयातको अनुमति पाउनुपर्छ।’
आयातमा लाइसेन्स किन आवश्यक ?
खासमा नेपालमा पोस्तादाना प्रतिबन्धित वस्तु होइन। तर भारत सरकारले भने यसलाई नारकोटिक समूहमा राखेर यसको आयातमा प्रतिबन्ध लगाएको छ।
त्यसैले नेपालका व्यवसायीले सरकारको अनुमति नलिई ओजिएल अर्थात् खुला आयात प्रणाली (ओपन जनरल लाइसेन्स)अन्तर्गत पोस्तादानाको आयात गरे भने भारत सरकारले बन्दरगाहमै सडाउँछ। त्यसैले भारतले बिच बाटामै पोस्तादाना नरोकिदियोस् भनेर नेपाली व्यवसायी यसको आयात गर्दा लाइसेन्स लिने गर्दछन् र यसैमा मोटो रकमको लेनदेन गरिन्छ।
यसअघि नेपालका व्यवसायीले २०५३ सालमा अफगानिस्तानबाट पाकिस्तान हुँदै आयात गरेको करोडौँको पोस्तादाना कोलकाता बन्दरगाहमै रोकेर कुहाइदिएको थियो। त्यस्तै २०६६ सालमा विराटनगरका व्यवसायीले सिंगापुरबाट बंगलादेशको मोगंला पोर्ट र फूलबारी नाका हुँदै ३ हजार टन पोस्तादानाको आयात गरे। त्यो बेलामा पनि पोस्तादाना फूलबारी नाकामै कुहाइदियो।
यसअघि २०५३ को कोलकाता बन्दरगाहमा भएको घटनाको डरले व्यवसायीले २०६६ सालमा फूलबारी नाकाको प्रयोग गरेका थिए। तर भारत सरकारले २०६६ मा पनि पोस्तादाना नेपाल भित्रन दिएन। यसपछि आर्थिक वर्ष २०७७–७८ मा तत्कालीन ओली सरकारले विराटनगरका प्रदीप मुरारका र दिनेश राठीलाई १–१ हजार टन गरी कुल २ हजार टन पोस्तादाना आयात गर्ने लाइसेन्स दियो।
पोस्तादाना मुरारका र राठीले टर्कीबाट भारतको विशाखापट्टनम बन्दरगाह हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाहमा ल्याएर आयात गरे। किनकि मुरारका र राठीले कोलकाता बन्दरगाह र फूलबारी नाकाको घटना देखिसकेका थिए।