नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा शपथ लिन चाहनेले जानकारी दिनुपर्ने

बिजमाण्डू
२०७९ पुष ४ गते १५:५९ | Dec 19, 2022
नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा शपथ लिन चाहनेले जानकारी दिनुपर्ने

काठमाडौं। संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई पुस ७ गते शपथ ग्रहण गराउने भएको छ। आगामी बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ ग्रहण गराउने तालिका संसद सचिवालयले सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार ७ दिनको समय दिएर दलहरुलाई आह्‍वान गरिसकेकी थिइन्। राष्ट्रपतिले सरकार गठनका लागि आह्‍वान गरेपछि सांसदरुको सपथ ग्रहण पनि छिटै हुन लागेको हो।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरि त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनु पर्नेछ। सचिवालय प्राप्त तथ्यांकअनुसार, प्रतिनिधिसभा सदस्यको २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए। उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ। सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।