माथिल्लो तामाकोसीले वर्षदिनमा गर्‍यो ७ अर्ब बढीको कारोबार, हकप्रद जारी गर्नुअघि पायो रेटिङ

बिजमाण्डू
२०७९ पुष ३ गते १७:४२ | Dec 18, 2022
माथिल्लो तामाकोसीले वर्षदिनमा गर्‍यो ७ अर्ब बढीको कारोबार, हकप्रद जारी गर्नुअघि पायो रेटिङ


काठमाडौं। माथिल्लो तामाकोसीले २०२१/२२ मा ७ अर्ब १७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले हकप्रद जारी गर्नु्अघि इक्रा नेपालबाट रेटिङ गराएको छ। जसमा कम्पनीले डबल बी रेटिङ पाएको छ।

Tata
GBIME

कम्पनीले कायम सो चुक्ता पुँजी बराबरको हकप्रद जारी गर्ने तयारी गरेको हो। हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजीको आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ। अहिले कम्पनीको  चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीमा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ। कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत सेयर स्वामित्व छ। 

नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान २/२ प्रतिशत स्वामित्व छ। 

८९ अर्ब ४२ करोड रुपैयाँ लागतमा निर्माण भएको यो परियोजना अहिलेसम्मकै सबैभन्दा ठूलो हो।  तामाकोसीले अर्को परियोजना रोल्वालिङ बनाउँदै छ। रोलवालिङ तामाकोसी जलविद्युत आयोजनालाई 'मेक अप गर्ने' प्रोजेक्ट हो। पूर्व तयारीको काम सकेर आगामी वर्षबाट मुख्य संरचनाको निर्माणमै जाने तयारी छ। 

आयोजनाका लागि करिब साढे ६ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ। जसका लागि ब्याजबाहेक करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माण सुरु गरेको करिब साढे चार वर्षमा बत्ती बाल्ने योजना कम्पनीको छ।

हालसम्म माथिल्लो तामाकोसीले ३६ करोड ४० लाख रुपैयाँ यो आयोजनामा लगानी गरिसकेको छ। यो आयोजना सञ्चालनमा आएसँगै राष्ट्रिय ग्रीडमा २० मेगावाट विद्युत थपिने छ। रोल्वालिङ क्यास्केडको सहायतामा तामाकोसीले ड्राइ सिजन (सुक्खायाम) मा पनि ६ घण्टा ४५६ मेगावाट पिकिङ इनर्जी दिन सक्नेछ। आयोजनाले अहिले ड्राइ सिजनमा ४ घण्टामात्रै ४५६ मेगावाट दिन्छ। 

यस्तै निर्माणाधीन अवस्थामा रहेको तामाकोसी-५ जलविद्युत आयोजनाका लागि पनि सोही हकप्रदबाट लगानीको जोहो गर्दै छ। प्राधिकरणले निर्माण गर्ने यो आयोजना माथिल्लो तामाकोसीकै पूर्वाधार प्रयोग गरेर निर्माण हुनेछ। आयोजनाको दुई वर्ष पहिले नै विस्तृत डिजाइन तयार भइसकेको छ। अहिले साइट क्याम्प, अफिस निर्माण लगायतका कामहरु सुरु भएको छ। 

जर्मन कम्पनीले दिएको अध्ययन प्रतिवेदन अनुसार आयोजनाका लागि १६ अर्ब ३३ करोड रुपैयाँ (ब्याजबाहेक) लाग्ने छ। त्यसका लागि ७० प्रतिशत (११ अर्ब ३३ करोड रुपैयाँ) कर्मचारी सञ्चय कोषले ऋण लगानीका लागि सहमति भइसकेको छ। अहिलेसम्म सेयर संरचना भने तय भएको छैन। 

कुल लगानीको १० देखि १५ प्रतिशत हिस्सा माथिल्लो तामाकोसीले समेत लिएको हो। दोलखाको सुरी दोभानमा पावर हाउस (विद्युत गृह) रहने यो ९९. ८ मेगावाटको क्यासकेड आयोजना हो।