पुसमा तरलता संकट गहिरिने विश्लेषण आउँदा सेयर बजारमा घट्यो लगानीकर्ताको मनोबल

बिजमाण्डू
२०७९ पुष ३ गते १५:२० | Dec 18, 2022
पुसमा तरलता संकट गहिरिने विश्लेषण आउँदा सेयर बजारमा घट्यो लगानीकर्ताको मनोबल

काठमाडौं। नेपाल बैंकर्स संघले पुस महिनामा तरलता संकट अझै गहिरिने विश्लेषण गरेको छ। यसको सोझो असर सेयर बजारमा परेको छ।

Tata
GBIME

अघिल्ला वर्षहरुमा पनि पुस र माघ महिनामा तरलता अभाव हुने हुनाले चालु वर्षमा पनि यो समस्या दोहोरिने अनुमान बैंकर संघको हो।तर, लगानीकर्ताले भने यतिबेला तरलता सुधार हुने अपेक्षा राखेका थिए। संघबाट संकट गहिरिन सक्ने र ब्याजदर नघट्ने निश्चित भएपछि सेयर लगानीकर्ताको मनोबल कमजोर बनेको छ।

बैक तथा वित्तीय संस्थाले ब्याजदर नघटाउने निर्णय गरेदेखि नै घट्न लागेको बजारले आइतबार पनि सुधारको संकेत दिएन। पछिल्लो चार कारोबार दिनयता परिसूचक ४७.२१ अंकले घटिसकेको छ।

आइतबार नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ पनि ५.२२ अंकले घटेको हो।

परिसूचक घटे पनि बिक्रेता हाबी हुँदा कारोबार भने १ अर्बमाथि नै छ। आज दिनभरको कारोबार अवधिमा २ सय ५० कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड माथिको सेयर किनबेच भएको हो।

कारोबारको आधारमा कृषि विकास बैंक अग्र स्थानमा छ। बैंकको ६ करोड २५ लाख बढीको सेयर किनबेच भएको हो। यस्तै रिडी पावरको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।