
काठमाडौं। ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण शुक्रबारदेखि सुरु हुने भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्ने जानकारी दिएको छ। विभागका अनुसार १४ महिनामा निर्माण सम्पन्न हुनेछ।
विभागले इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा बनाउने गरी गत साउनमा टेन्डर आह्वान गरेको थियो। माघमा आरसी, समानान्तर र रेलिग्रे जेभी छनोट भएका थिए।
त्यस लगत्तै १७ करोड ६८ लाख लगानीमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए। डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृत भएको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्म ट्राफिक व्यवस्थापन मिलाउन सूचना समेत जारी गरेको छ।
प्रहरी कार्यालयले कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाएको छ। यस्तै साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फाष्टट्रयाकबाट चलाइने छ।
यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै जान दिइने प्रहरी कार्यालयले जनाएको छ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीलाई फाष्टट्रयाकबाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।