
काठमाडौं। एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ।
योजना अनुसार बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबल प्रेमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सयदेखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने बैंकले जनाएको छ।
साथै, उक्त योजनाअन्तर्गत भाग्यशाली ३ सय जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने बताइएको छ।
२० लाख पटकभन्दा बढी डाउनलोड भइसकेको बैंकको मोबाइल एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ। जसको आधारमा ग्राहकहरुले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्ने बैंकले जनाएको छ।
काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३ सय वटा टिकटमध्ये १४० वटा ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ।
बैंकले मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरिसकेको छ। बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।