
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा (सोलार) आयोजनाबाट १०० मेगावाट विद्युत खरिद गर्ने भएको छ। यसका लागि प्राधिकरणले आशयपत्र जारी गरेर प्रतिस्पर्धाबाट विद्युत खरिदको पीपीए खुलाएको छ।
प्राधिकरणले सोलार प्लान्टबाट उत्पादन हुने विद्युत प्रतिस्पर्धाबाट खरीद गर्ने निर्णय गरेसँगै पीपीए खुलाएको हो। गत माघ पहिलो साता प्राधिकरणको बोर्ड अध्यक्ष ऊर्जामन्त्री पम्फा भुसालको संयोजकत्वमा भएको बैठकले सोलारको पीपीए प्रतिस्पर्धाबाट खुलाउने निर्णय गरेको थियो।
सोलार ऊर्जालाई सर्वसुलभ र पारदर्शी बनाउन प्रतिस्पर्धी बजारबाट खरिद गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।
इच्छुक कम्पनीले आगामी फेब्रुअरी २६ (माघ १२) सम्म आवेदन दिन सक्नेछ। सोही दिन अर्थात २६ फेब्रुअरीमा प्राविधिक प्रस्ताव खोलिनेछ। प्राविधिक प्रस्तावमा पास हुने कम्पनीहरुलाई आर्थिक प्रस्तावमा खोलिनेछ। सबैभन्दा कम कबोल गर्ने कम्पनीसँग पीपीए हुनेछ। आशयपत्र अनुसार इच्छुक कम्पनीले पीपीए भएको १८ महिनामा आयोजनाको काम पुरा गर्नुपर्नेछ।
राष्ट्रिय प्रसारणमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकेर सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामा पीपीएका लागि आह्वान गर्न सक्ने निर्णय भएको छ। सोही आधारमा पीपीए खोलेको हो।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आवश्यक परेका स्थानमा पीपीए खोलिएको बताए। 'हामीलाई जहाँ-जहाँ चाहिएको छ। त्यहाँका लागि पीपीए खोलेका हौं। जहाँका आयोजनाले पनि पाउँदैनन्। त्यही वरिपरि हुनुपर्छ,' उनले भने, 'हाइड्रोपावरको उत्पादन कम भएका विभिन्न क्षेत्रका लागि खुलाएका हौं।'
यसअघि प्राधिकरणले ७ रुपैयाँ ३० पैसा प्रति युनिटमा सोलारको पीपीए गर्दै आएको थियो। अहिले त्यसलाई संशोधन गरेर ५ रुपैयाँ ९४ पैसा आधारदर तोकेको छ।
प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग ११० मेगावाटको पीपीए गरेको छ। योमध्ये ६ वटा आयोजना पुरा भई राष्ट्रिय प्रणालीमा २९ मेगावाट विद्युत जोडिएको छ।