कोभिड-१९ महामारी विश्वभरको मानव विकास प्रगतिमा बाधक बन्यो, सुधारका लागि के गर्न सकिन्छ?




काठमाडौं। युएनडीपीले पछिल्लो मानव विकास प्रतिवेदनमार्फत विश्वलाई नै कोभिड-१९ महामारीपछिको अवस्थामा नयाँ जटिलता र थप अनिश्चिततातर्फ धकेलेको परिदृश्य सार्वजनिक गरेको छ। समग्र विश्वकै मानव विकासको प्रगति लगातार दुई वर्षदेखि उल्टो गतिमा देखिएको प्रतिवेदनले चित्रण गरेको हो।



सन् २०२१/२२ का लागि सार्वजनिक 'अनिश्चित समय अस्थिर जीवन: परिवर्तित विश्वमा हाम्रो भविष्य' नामक प्रतिवदेनमा कोभिड महामारीपछिका दुई वर्षहरुमा विश्वभरकै मानव विकास सूचकांक गिर्दो अवस्थामा पुगेको देखिएको छ।

कोभिड-१९ महामारीपछि विश्वभर सन्त्रासको अवस्था सिर्जना भएको र त्यसले मानव विकासका दृष्टिमा विश्वका सबैजसो देशका नागरिक प्रभावित बनेको उल्लेख छ। प्रतिवदेनमा विश्वमा पछिल्लो समयमा देखिएको जटिलताले अधिकांश देशको मानव विकासको प्रगतिलाई उल्टो गतिमा लैजाने काम गरेको पनि उल्लेख छ।

कोभिड-१९ महामारीले विश्वभरका मानिसमा सामाजिक अविश्वास बढ्नुका साथै असमानता र जलवायुजन्य विपदहरुले पनि प्रगतिमा अवरोध ल्याउने काम गरेको बताइएको छ। कोभिड महामारीका कारण मानव विकासमा यसअघि कहिल्यै नपुगेको धक्का लागेको उल्लेख छ।

यसैगरी रुस-युक्रेन युद्धले अझ बढी मानव प्रभावित भएको र त्यसले विश्वभरकै भू-राजनीतिक अवस्थालाई प्रभावित तुल्याएको बताइएको छ। कोभिड महामारीपछि हरेक व्यक्तिमा उदासिनता र निराशाको भाव देखिएको पनि प्रतिवदेनमा उल्लेख छ।

विश्वमा अनिश्चितता हुनु नौलो कुरा होइन तर मानव विकासको चरणमा हालसम्मै नदेखिएको जटिल अनिश्चितता यसपटक देखिएको प्रतिवदेनमा उल्लेख छ।

जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, आँधीहुरी तथा आगलागी जस्ता घटनाहरुले विश्वमा प्रकोप बढेको प्रतिवदेनले देखाएको छ। ग्लोबल सप्लाइ चेनमा देखिएको अवरोध मूल्यमा देखिएको उतारचढाव ऊर्जा, खाना, रसायनिक मल, दैनिक उपभोग्य वस्तु तथा अन्य सामाग्रीहरुको मूल्यवृद्धि पनि विश्वले सामना गरिरहनुपरेको छ। विश्वले खाद्यान्न संकट भोग्नुपर्ने वारम्बार चेतावनी दिइरहे पनि पछिल्लो समय रुस-युक्रेन युद्ध महामारी र बढ्दो तापक्रमले यस चुनौतीलाई अझ बढी बढाइरहेको देखिन्छ।

प्रतिवेदनमा भनिएको छ- 'अनिश्चितता नयाँ होइन। तथापि कोभिड-१९ महामारी र युक्रेन युद्धले हालको अनिश्चिततालाई अझै जटिल तथा थप अनिश्चित बनाइदिएको देखिन्छ।'

प्रतिवेदनका अनुसार मानवताको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको जलवायु र जैविक विविधता संकट, असमानता र राजनीतिक ध्रुवीकरणका साथै प्राविधिक उथलपुथलले पनि जटिल परिस्थिति निर्माणलाई मलजल गरिरहेको छ।

एक अर्कासँग जकडिएर रहेको अनिश्चितताहरुले विश्वमा आर्थिक संकटलाई निम्त्याएको र समाजमा नराम्रो प्रभाव पारिरहेको प्रतिवदेनले देखाएको छ।

रुस-युक्रेन युद्धले बजार मूल्य अत्यन्तै बढाइदिएको छ भने महँगी र खाद्य संकटले विश्वलाई गाँज्ने खतरा पनि उत्तिकै छ।

कोभिड महामारी र युद्धकै प्रभावका कारण मानिसहरुमा तनाव, उदासी, क्रोध र चिन्ता हाल अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। विश्वव्यापी रूपमा तनाव भएको बताउने मानिसहरूको अनुपात ३५ प्रतिशत भन्दा बढी छ, जुन एक दशक अघिभन्दा १० प्रतिशत बढी हो ।

प्रतिवेदनका अनुसार हालको मानसिक स्वास्थ्य संकटले मानव विकासमा बाधा पुर्‍याउनुका साथै मानिसहरूको स्वतन्त्रता र अवसरहरूलाई सीमित गरिदिने खतरा उत्तिकै छ। कोभिड महामारी अघिको अवस्थामा विश्वमा सातमध्ये ६ मानिसले आफूलाई असुरक्षित महसुस गर्ने गरेको उल्लेख छ।

विशेषगरी बालबालिकाहरू सबैभन्दा बढी प्रभावित छन्। उनीहरूमध्ये ५० प्रतिशत भन्दा बढीले मानसिक, शारीरिक वा यौन हिंसाको सामना गर्नु परेको छ। करिब ४५ करोड बालबालिका वा हरेक ६ जनामा एकजना हाल द्वन्द्वग्रस्त क्षेत्रहरूमा बसोबास गर्छन्, जसले आघातजन्य तनावसहित उनीहरूको मानसिक स्वास्थ्यमा नराम्रो परिणामहरू निम्याइरहेको छ ।

विश्वमा बढ्दो राजनीतिक ध्रुवीकरण र अविश्वासले सामाजिक संवाद गर्ने हाम्रो क्षमतालाई कमजोर बनाइदिएको छ भने सामूहिकताको भावना हराउँदै गएको छ। अधिकांश व्यक्तिमाथि विश्वास गर्न सकिन्छ भन्ने कुरा सोचाई राख्ने मानिसको संख्या विश्वभरी ३० प्रतिशतभन्दा कम छ, जुन अहिले सम्मकै न्यून हो ।

यति हुँदाहुँदै पनि प्रतिवेदनले यही अनिश्चितता बीचमा पनि अवसर खोजी गर्नुपर्ने भन्दै आशावादी भावलाई जगाइराखेको छ। परम्परागत तरिका र आजको समयको माग बीचको बढ्दो अलमलका बीच नयाँ अवसरहरु सिर्जना गर्न सकिने सुझाव पनि प्रतिवेदनले दिएको छ।

मानव विकासलाई थप बलियो बनाउन सकियो भने मात्र हाम्रो भविष्य सकारात्मकता तर्फ अघि बढ्दै जाने र परिवर्तन ल्याउन सक्ने अवस्था आउने पनि प्रतिवेदनले बताएको छ। यसका लागि हाल विश्वभर देखिएको मानवताको खडेरीलाई तोड्ने र ध्रुवीकरणलाई निरुत्साहित गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ।   

विश्वभरका मानिसबीच विश्वासको पुल तयार पारी सबैलाई समावेशी रुपमा निर्माण प्रक्रियामा सहभागी हुने अवसर दिनुपर्ने बताइएको छ।

हरेक समूह र समुदायले के चाहन्छन् भन्ने कुरा जान्नका लागि समावेशी संवाद गर्दै अघि बढ्दामात्र हामीले चाहे जस्तो मानव विकास लक्ष्य प्राप्त गर्न सकिने प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनमा भनिएको छ- 'मानिसहरूको सोच परिवर्तन गर्नका लागि  भावना, संज्ञानात्मक पूर्वाग्रह र संस्कृतिको भूमिका पहिचान गर्दै मानव आचरणप्रतिको हाम्रो बुझाइलाई अझ फराकिलो बनाउनैपर्छ ।'

अनिश्चित समाजमा अघि बढ्नका लागि हामीले मानसिक पीडा कम गर्ने, संकटहरू न्यून गर्ने र मनोवैज्ञानिक जुझारुपन विकास गर्नतर्फ लाग्नुपर्ने बताइएको छ। प्रतिवेदनले मानसिक स्वास्थ्य सेवाको पहुँचलाई उल्लेख्य रूपमा विस्तार गर्नुपर्ने आवश्यकता पनि औल्याएको छ।

'साझा लक्ष्यहरूका लागि मिलेर काम गर्ने हों भने हामीले धेरै कुरा हासिल गर्न सक्छौं। असमानताहरुलाई सम्बोधन गर्दै जनताको स्वतन्त्रता र अवसरहरूमा वृद्धिमार्फत हामीले यस्तो भविष्यको सिर्जना गर्न सक्छौं जहाँ अनिश्चितताहरूका बावजुद मानिस र पृथ्वी दुवै फस्टाउन सक्नेछन्। हामी यहाँबाट कतातिर  जान्छौं भन्ने कुरा हामीमाथि निर्भर गर्दछ।'- प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले कोभिड १९ महामारीलाई विश्वको नयाँ वास्तविकतातर्फ चियाउन मद्दत गरेको आँखीझ्यालका रुपमा चित्रण गरेको छ। विश्वमा यस्ता किसिमका पीडादायी सममस्याहरुले नयाँ वास्तविकताका रुपमा सामना गर्नुपर्ने सत्य उजागर गरेको छ।

आधुनिक विज्ञानको  प्रभावकारी आविष्कारका रुपमा कोभिडविरुद्धको खोप निर्माणलाई लिइएको छ जसबाट महामारी सुरु भएको एक वर्षभित्रै  खोप निर्माण भई हजारौंको ज्यान जोगाउन सक्षम भयो। तर प्रतिवेदनले कोभिडविरुद्धको खोपको पहुँचमा देखिएको उच्च असमानताप्रति चिन्ता जाहेर गरेको छ।

सन् २०२२ को जुलाइसम्मको तथ्यांक हेर्ने हो भने उच्च आय भएका देशहरुमा चारमध्ये ३ मानिस अर्थात ७२ प्रतिशतले कम्तीमा एक डोज खोप पाएका छन् भने न्यून आय भएका देशहरुमा पाँचमध्ये १ जना मात्र मानिसले कम्तीमा एक डोज खोप पाएका छन्, जुन २१ प्रतिशत मात्र पहुँच हो।

अनिश्चितताको सामना गर्न के गर्न सकिन्छ?

विश्वमा देखिएको अनिश्चितता कम गर्नका लागि प्रतिवेदनले सुझाव समेत दिएको छ। यसका लागि तीन 'आई' इन्भेष्टमेन्ट, इन्स्योरेन्स र इन्नोभेसनको आवश्यकता प्रतिवदेनले औंल्याएको छ।

प्रतिवदेनले यी तीन 'आई'मा लक्षित रहेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औल्याएको छ।

इन्भेष्टमेन्ट (लगानी)

नविकरणीय ऊर्जाका साथै महामारी तथा प्राकृतिक विपत्तिहरुको सामना गर्ने तयारीका लागि सक्दो लगानी गर्नु अत्यावश्यक देखिएको छ। यस्ता किसिमका लगानीले समाजलाई विपत्तिहरुसँग सामना गर्न सहज बनाउँछ तथा दबाब कम पर्छ।

इन्स्योरेन्स (बीमा)

बीमा अर्थात सामाजिक सुरक्षाले अनिश्चित विश्वमा हरेक किसिमका समस्याहरुसँग सामाना गर्न सघाउँछ। सामाजिक सुरक्षाले कोभिड महामारीको अवस्थामा धेरै सहयोग पुगेको हामी महसुस गर्न सक्छौं। बीमाले सामाजिक सुरक्षाको अनुभूति गराउँछ भने आइपर्ने आकस्मिक परिस्थितिहरूका लागि हामीलाई सामना गर्न तयार समेत बनाइराख्छ।

यसैगरी सानो सामाजिक बीमा कभरेजले पनि आधारभूत सेवा शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा बीमा सुविधाले समाजलाई बढी सहज अवस्था बलियो बनाइराख्न मद्दत गर्छ।  

इन्नोभेसन (नवप्रवर्तन)

प्राविधिक, आर्थिक, साँस्कृतिक लगायतका अनेक पक्षमा नवप्रवर्तनहरुबाट मानव विकासका अनेक ज्ञात अज्ञात चुनौतीहरुलाई सामना गर्न सघाउँछ। नवप्रवर्तनले सामाजिक रुपमा सकारात्मक परिवर्तन ल्याउँछ तर त्यसका लागि चयन हुने प्रविधिमा भने असाध्यै सावधान हुनुपर्ने देखिन्छ। भविष्यका लागि प्रविधि चयन गर्दा साझा हितलाई ध्यानमा राख्नुपर्ने देखिन्छ यसका लागि नवीकरणीय उर्जा तथा फोसिल फ्युलमा आधारित प्रविधिहरुलाई प्रयोग गर्नुपर्ने बताइएको छ।

प्रतिवेदनमा भनिएको छ - 'हामीले यस्तो प्रविधि विकास गर्न जरुरी छ जसले मानव संसाधनलाई अझ सघाउ पुर्‍याओस् न कि विस्थापित गरोस्।'


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell