सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै, जसपा अध्यक्ष उपेन्द्र यादव कसरी मान्लान् ?



२०७९ भदौ २६ गते ०९:२६
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै, जसपा अध्यक्ष उपेन्द्र यादव कसरी मान्लान् ?


काठमाडौं। निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार गरे पनि अझै निष्कर्ष निकाल्न नसकेको हो।

Tata
GBIME

यो विषयमा थप छलफल गर्न आइतवार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। सिट बाँडफाँटको विषयमा दलहरुबीच सहमति नजिक पुगेको शनिवारको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 'हामी सहमतिको नजिक पुगिसकेका छौं। छलफल जारी छ। यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ,' उनले भने, 'चाँडै टुंगो लाग्छ।' 

थप छलफलका लागि आज साढे ८ बजे गठबन्धनको बैठक बस्ने कार्कीले जानकारी दिए।

शनिवारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन्। पछिल्लो पटक माओवादी, जसपा र एकीकृत समाजवादीले सिट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन्। जनकपुर पुगेर यादवले सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने चेतावनी दिएका छन्। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभामा गठबन्धनमा सम्मानजनक तालमेल हुने अवस्था नभए जसपा गठबन्धनबाट बाहिरिने यादवले बताउँदै आएका छन्।

'लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले सडक आन्दोलन गर्‍यो,' जसपा अध्यक्ष यादवले भने 'आज गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र हुँदैछ।'

उनले भने, 'मधेसको शक्तिको रुपमा रहेको जसपालाई कमजोर बुझ्ने भूल भइरहेको छ। जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिष्टले नगरोस्, चेतावनी दिन चाहन्छु‍।'

गठबन्धनलाई कमजोर बनाउन कांग्रेसभित्रै इतर समूह र एमाले लागिरहेको कतिपयको आरोप छ।