बहुराष्ट्रिय कम्पनीले उठाए ट्रेडमार्क चोरी मुद्दा, बौद्धिक सम्पत्ति संरक्षण नहुँदा लगानी आएन

बिजमाण्डू
२०७९ साउन १७ गते ०९:५० | Aug 2, 2022
बहुराष्ट्रिय कम्पनीले उठाए ट्रेडमार्क चोरी मुद्दा, बौद्धिक सम्पत्ति संरक्षण नहुँदा लगानी आएन

काठमाडौं। बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्कजस्तै दर्ता गरेर सामान उत्पादन गर्ने क्रम बढेपछि विदेशी लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटेर बौद्धिक सम्पत्तिको अधिकारमा नेपाल कमजोर भएकै कारण विदेशी लगानी आउन नसकेको नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्।

नेपाल-भारत उद्योग वाणिज्य संघको टोलीले सोमबार बडुलाई भेटेर यो चिन्ता व्यक्त गरेका हुन्। उनीहरुले १० वर्षदेखि बौद्धिक सम्पत्तिको विषयमा छलफल भए पनि नेपालले कडा कानुन ल्याउन नसकेको बताएका थिए।

संघका उपाध्यक्ष हरकिरत सिंह बेदीले बौद्धिक सम्पत्ति सम्बन्धि कानुनमा सुधार नगरे विदेशी लगानी ल्याउन कठिन हुने बताए। पछिल्लो समयमा बहुराष्ट्रिय कम्पनीकोजस्तै ट्रेडमार्क र उत्पादन ल्याउने क्रम मौलाएको छ।

तर कानुनको अभावमा ती कम्पनीलाई कारवाही गर्न सकेको छैन। उनले बौद्धिक सम्पत्तिका बारेमा विदेशमा सबै जना सजग भएपनि नेपालमा भने सरकारी अधिकारी समेत सजग नहुँदा समस्या भएको बताए।

भेटमा ट्रेडमार्कको होम रजिष्ट्रेसन, विदेशी कम्पनीबाट लिएको सेवा वापतको भुक्तानी र कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङका समस्याका बारेमा पनि जानकारी गराइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भेटमा इण्डियन बिजनेस फोरमका सहसंयोजक सैवाल घोष, महानिर्देशक केशवमान सिंह र उपमहानिर्देशक मार्शल राठौर सहभागी थिए।