महाप्रबन्धक सर्वोच्चको पेसीमा, त्यही भएर रोकियो एनएसीको काठमाडौं-बेङ्लोर उडान

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ असार १७ गते १७:१० | Jul 1, 2022
महाप्रबन्धक सर्वोच्चको पेसीमा, त्यही भएर रोकियो एनएसीको काठमाडौं-बेङ्लोर उडान


काठमाडौं। बिहीबार नेपाल वायुसेवा निगमको काठमाडौं-बेङ्लोर उडानको सबै तयारी पूरा भएको थियो। निगमले आफ्नो काउन्टरदेखि ट्राभल एजेन्सीमार्फत १३० यात्रुको टिकट काटिसकेको थियो।

Tata
GBIME
Nepal Life

टिकट काटेर बेङ्लोर जाने केही समय अगाडि उडान रद्द भयो। निगमको ६५ औं वार्षिकोत्सवको अघिल्लो दिन व्यवस्थापनबाट भएको यो गम्भीर लापरवाही थियो।

बेंग्लोर जाने तयारी गरेका यात्रुलाई अन्तिम समयमा उडान रद्दको जानकारी दिइयो। उडान रद्द हुँदा निगमले आर्थिक नोक्सानीसँगै विश्वसनीयता समेत गुमायो। निगमले जहाज वाइडबडी र न्यारोबडी किन्न लिएको ऋणको किस्ता पनि तिर्न सकेको छैन।

किस्ता तिर्न नसकेर पुनर्तालिकीकरणको माग गर्दै सरकारसँग हारगुहार गरिरहेको छ। तर निगम व्यवस्थापनको गैरजिम्मेवारीका कारण अन्तिम समयमा उडान रद्द गरेर संकटमा डोर्‍याउने काम गरेका छन्। निगमका एक कर्मचारी उच्च तहको गैरजिम्मेवारीका कारण उडान रद्द भएको बताउँछन्।

'पाइलट व्यवस्थापन गर्न नसकेर बेङ्लोर उडान रद्द भएको हो। महाप्रबन्धक आफैं पाइलट हो। उहाँको सर्वोच्च अदालतमा पेसी भएकाले उडान गर्नुभएन,' ती कर्मचारीले भने, 'उहाँले त उडान गर्नु भएन नै। अरु पाइलट पनि व्यवस्थापन गर्न सक्नुभएन।' उनका अनुसार महाप्रबन्धकले पद र जिम्मेवारीलाई ख्याल नगर्दा समस्या आएको हो। उनले व्यवस्थापनले गरेको गैरजिम्मेवारपूर्ण कार्यप्रति पर्यटन मन्त्रालयले अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।

'यो लापरवाहीलाई पर्यटन मन्त्रालयले तत्कालै अनुसन्धान अघि बढाउनुपर्छ। जनताको करबाट चलेका सार्वजनिक संस्थानलाई धरासायी बनाउने काम हुँदा समेत कुनै कारवाही भएन भने अराजकता ल्याउँछ,' पर्यटन मन्त्रालयका एक अधिकारीले भने।

उनले विगतदेखि नै यस्ता घटनालाई सामान्य रुपमा लिँदा पटकपटक दोहोरिएको बताउँदै यो रोक्न नसके निगम आर्थिक रूपमा माथि उठ्नै नसक्ने जिकिर गर्छन्। 'यो घट्ना छानबिन भएन भने निगमका उच्च अधिकारीले अरु कुनै निजी कम्पनीलाई फाइदा हुने गरि उडान रद्द गर्न सक्छन्। यस्ता घटना विगतमा पनि भएका थिए,' ती अधिकारीले भने, 'निगम सुधार गर्ने हो भने यही विन्दुबाट सुरु गर्नुपर्छ।'

कति छन् पाइलट ?

निगमका अनुसार हाल न्यारोबडी जहाज उडान गर्ने ११ जना पाइलट कार्यरत छन्। यतिबेला उनीहरुमध्ये एक जना कोभिड भएर घरमा छन्।

सात जना पाइलटको जुन महिनाभर ९५ घण्टा नाघिसकेका कारण उडानमा सहभागिता हुन पाएनन्। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सीमित उडान समयपछि उडान गर्न नपाइने प्रावधान छ।

'काठमाडौं-बेंग्लोर आउँजाउँ गर्न सात घण्टा समयावधि लाग्छ। बाँकी दुई जना मंगलबार मात्रै तालिमबाट फर्किनुभएको छ। २९ तारिखमा एक जना मलेसिया र अर्को एक जना दुबई जानुभयो। मलेसिया जानुभएको क्याप्टेन आएर पुनः दुबई जानुभयो। दुबईबाट फर्किनुभएको पाइलटलाई १०-१२ घण्टा आराम चाहिहाल्यो।' स्रोतले भन्यो, 'यसो हुँदा दिउँसोको उडान त राति सार्नु पर्‍यो। यसो गर्दा राति दुबई र रियादको उडान हटाउनुपर्ने देखियो। जसले गर्दा सबै उडान अवरोध हुने देखिएपछि निगमको व्यापार विभागले यो निर्णय गरेको हो।'