अब केही दिन होइन केही घण्टाकै अन्तरमा मन्त्री फेर्दैछौं: एकीकृत समाजवादी

बिजमाण्डू
२०७९ असार ९ गते १४:५० | Jun 23, 2022

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले मन्त्री फेर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेको छ। एकीकृत समाजवादीको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे।

Tata
GBIME

उनले भने ‘एकदमै चाँडै, केही दिनहरु होइन केही घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौं।'

पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको उनको भनाइ छ। एकीकृत समाजवादीका मन्त्रीहरूले बिहीबार बिहान अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए। अध्यक्षसँग मन्त्रीले भेट्दैमा निर्णय कार्यान्वयनबाट पार्टी पछि नहट्ने खतिवडाको भनाइ छ।

‘को व्यक्तिले कहाँ कससँग भेट्यो भन्नेले अर्थ राख्दैन,’ उनले भने।

जेठ २२ गते एकीकृत समाजवादीका मन्त्रीहरूलाई फिर्ता बोलाउने उक्त पार्टीले निर्णय गरेको थियो। तर, दुई हप्ता भन्दा बढी समयसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन।

एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सरकारमा सहभागी छन्। चारैजना मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने एकीकृत समाजवादीले स्वाथ्य मन्त्री बनाउने निर्णय गरेको छ।  प्रतिनिधि सभामा बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा कार्यान्वयन गर्नबाट पछि हटेका थिए। एकीकृत समाजवादीका नेताहरुले भने निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गर्ने गरेका छन्।