
काठमाडौं। सानिमा बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर असार १ गतेदेखि नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ।
प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्न काउन्टर थप गरिएको बैंकले जनाएको छ। प्रायोरिटी काउन्टरबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको बताइएको छ।
नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले संयुक्त रुपमा गरेका छन्।
बैंकका प्रमुख निक्षेप अधिकृत गुरागाईंले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए।
सानिमा बैंकले देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटीएम संचालन गरिरहेको छ।