अपर तामाकोशीभन्दा बढी बिजुली आउने बेतन कर्णाली निर्माणको चरणनजिक, ८८ अर्ब लगानी, ५ वर्षमा बन्ने

बिजमाण्डू
२०७९ असार १ गते ०६:३० | Jun 15, 2022
अपर तामाकोशीभन्दा बढी बिजुली आउने बेतन कर्णाली निर्माणको चरणनजिक, ८८ अर्ब लगानी, ५ वर्षमा बन्ने

काठमाडौं। कर्णाली नदीमा पहिचान भएको ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत आयोजना आगामी वर्षबाट निर्माणमा जाने भएको छ।

Tata
GBIME
Nepal Life

आयोजना प्रवर्द्धक 'बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड'ले पूर्वतयारीको काम सकेर आगामी वर्षबाट निर्माण कार्य सुरु गर्ने योजना बनाएको हो।

आयोजनाको साइटमा क्याम्प निर्माण पुरा भएको छ। हाल टेष्ट टनेल खन्ने काम चलिरहेको छ। विस्तृत अध्ययन सकेर वातावरणीय प्रभाव मूल्याङकन (इआईए) रिपोर्ट समेत अन्तिम चरणमा पुगेको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले बताए। उनका अनुसार इआईएको ८० प्रतिशत काम सकिएको छ।

नेपाल विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले तयार पारिरहेको इआईए प्रतिवेदनलाई अन्तिम रुप दिन साउन पहिलो सातासम्ममा सार्वजनिक सुनुवाइ गर्ने योजना छ।

यो आयोजना अछाम र सुर्खेत जिल्मा पर्छ। अछाममा १८ किलोमिटर पहुँचमार्ग निर्माणको काम सकिएको छ भने सुर्खेतमा निर्माण गर्नुपर्ने करिब १४ किमी पहुँचमार्गमध्ये ८ किमी पुरा भएको छ। ६ किमी भदौसम्म सकेर बेलीबृज निर्माणको काम अघि बढाउने योजना छ।

त्यसैगरी, ५७० मिटर टेष्ट अडिट टनेलमध्ये ४९० मिटर पूरा भएको छ। परिक्षणका लागि हेडवर्क्सको दायाँ/बायाँ ७०/७० मिटर खन्ने काम सकिएको छ। पावर हाउसको करिब ९० मिटर टनेल खन्ने काम बाँकी छ। पावर हाउस अण्डरग्राउण्ड हुनेछ।

आयोजनाका लागि अछाममा १८४४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। त्यसका लागि मुआब्जा निर्धारण भएको छ। मुआब्जा वितरणका लागि प्रक्रिया अघि बढाउन लागिएको छ। सुर्खेतमा करिव ४ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। जसको मुआब्जा निर्धारणको प्रक्रिया अघि बढाइएको न्यौपानले बताए। 

हेडवर्क्सको फिजिकल मोडलिङ गर्न लागिएको छ। हाइड्रो ल्याबमा ड्याम बनाएर फिजिकल मोडलिङमार्फत परीक्षण गरेर हेर्न लागिएको हो। त्यसका लागि सम्झौतासमेत भइसकेको छ। यसरी परीक्षण गरेर हेर्दा चुनौती र सम्भावित जोखिमहरुबारे समेत जानकारी हुनेछ। आयोजनाको बाँधस्थल अछामको मालुमेलामा र विद्युत गृह टटालीघाटमा रहनेछ।

बाँध फाउण्डेसनबाट १४० मिटर अग्लो हुनेछ भने उक्‍त बाँधबाट २१ किलोमिटर लामो कृतिम ताल बन्नेछ। उक्त तालमा माछा पालनदेखि पर्यटकीय गतिविधि संचालन गरेर स्थानीयको रोजगारीका साथै आम्दानी स्रोत बढ्नेछ। जसले स्थानीयहरुलाई आत्मनिर्भर बन्न सहयोग गर्नेछ।

आयोजनाले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) का लागि प्रक्रिया अघि बढाइसकेको छ। इनर्जी लक भइसकेकाले छिट्टै सम्झौता हुनेमा आयोजनाका अधिकारीहरु आशावादी देखिएका छन्। ' पूर्व तयारीका सबै काम धमाधम चलिरहेको छ। आगामी वर्षबाट निर्माणमा जाने योजना छ, 'उनले भने, 'पूर्वतयारीका काम अन्तिम चरणमा पुगेका छन्। वित्तीय व्यवस्थापनका लागि हामी बैंकहरुसँग निरन्तर छलफलमा छौं।'

आयोजनामा तीनवटा ८ मिटर डायमिटरका २०१५ मिटर लामो सुरुङमार्ग निर्माण हुनेछ। विद‍्युत उत्पादनका लागि ६ वटा टर्वाइन हुनेछ। ५ किमी ट्रान्समिसनलाइनमार्फत आयोजनाबाट उत्पादन भएको विद्युत सुर्खेतको बेतन हब सवस्टेशनमा जोडिनेछ। त्यहाँबाट ३० किमी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्ने पूर्व-पश्चिम ४०० केभी र क्रशबोर्डर प्रसारणलाइनमार्फत राष्ट्रिय ग्रीडमा जोडिनेछ।८८ अर्ब लागत, पाँच वर्ष निर्माण अवधी
यो आयोजनाका लागि ७४ अर्ब १७ करोड रुपैयाँ (ब्याजबाहेक)  लाग्ने अनुमान गरिएको छ। ब्याजसहित करिव ८८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

आयोजनाबाट वार्षिक २४०६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। आयोजना प्रबन्धक न्यौपानेका अनुसार बेतन कर्णालीबाट माथिल्लो तामाकोसी (४५६ मेगावाट) बाटभन्दा पनि बढी विद्युत उत्पादन हुनेछ। यसबाट वार्षिक १४ अर्ब रुपैयाँ आम्दानी गर्न सकिने बताइएको छ। नौ वर्षपछि भने आयोजनाले  १८ अर्ब रुपैयाँ आम्दानी गर्ने जनाइएको छ। यो हिसाबले आयोजनाले दैनिक ४ करोड रुपैयाँ आम्दानी गर्नेछ।  

आयोजनामा सञ्चयकोषका सञ्चयकर्ताको ४० प्रतिशत र संचयकोषको १५ प्रतिशत सेयर हिस्सा रहनेछ। यस्तै, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको १०/१० प्रतिशत सेयर रहनेछ। प्रभावित  जिल्लाका स्थानीयबासीको १० प्रतिशत र अन्य सर्वसाधारणको १५ प्रतिशत गरी कुल २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने योजना रहेको छ।