
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुहरुले ज्यान गुमाउनु परेको बताएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनु परेको बताएका हुन्।
उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र र सडक चर्किसक्दासमेत हेलचेक्राइँ गरिएको उनको भनाइ थियो।
‘केही दिनअघि मात्रै पोखरा–मुग्लिन पृथ्वी राजमार्गमा बाटो भासियो। त्यो बाटो भासिन्छ भन्ने सडक विभागलाई पहला नै थाहा थियो रे। किनभने पक्की रोड क्रयाक भइसकेको थियो रे। चर्केको रिपोर्ट आएन वा होइन चल्छ भन्ने भयो। सानो गाडी र केही मानिस त्यहाँ हताहत हुनुभयो। नागरिकको जिउधनको रक्षा गर्ने दायित्व राज्यको हो तर पनि सकिएन। त्यसपछि पूरा जाम भयो। यसको पनि व्यवस्थापन गर्न जरुरी छ,’ उनले भने।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा दुईजनाको मृत्यु भएको थियो। सो घटनामा परि मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका-५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिएका थिए।
खाणले नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेको बताउँदै राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। उनले जोखिम सम्बन्धी पूर्व सूचना प्रशारणका कामलाई राष्ट्रव्यापी बनाउनुपर्ने बताए।
‘नेपाल प्रहरी, सम्बन्धित निकाय र सञ्चारमन्त्रालयलाई त्यसबारेमा सूचना पाउनेबित्तिकै जानकारी दिन आग्रह गर्छु। फलानो ठाउँमा बाटो अवरुद्ध छ भन्ने कुराको जानकारी गराउन आग्रह गर्छु,’ उनले भने।
खाणले विपद् व्यवस्थापनमा आफूसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना र अल्पकालीन योजना सम्बन्धित विभाग र मन्त्रालयलाई साँझ ५ बजेसम्म उपलब्ध गराउन निर्देशन समेत दिएका छन्। उनले यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा विपद् सम्बन्धी निकाय र मन्त्रालयहरु कसरी अघि बढ्ने योजना छ भन्ने लिखित योजना पेस गर्न पनि निर्देशन दिएका छन्।