
विराटनगर। बजेटले स्वदेशी उद्योगलाई अप्ठ्यारो पार्ने नीति लिएको भन्दै सरकारको विरोध प्रदर्शनमा निस्किएपछि अर्थमन्त्रीद्वारा वार्ताको निम्तो पाएर काठमाडौं पुगेको प्रदेश १ का उद्योगी-व्यवसायीको टोलीले सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
भेटमा दाहालले बजेट वक्तव्यबाट मर्कामा परेका सेनेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित उद्योगको संरक्षणका लागि अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिइसकेको बताएका छन्।
खुमलटारस्थित निवासमा भेट्न पुगेका पूर्वका तीन मुख्य व्यावसायिक संगठनका प्रतिनिधिसित अर्थमन्त्री शर्मालाई आफूले कर–संरचनामा सुधार र संशोधन गर्न निर्देशन दिइसकेको दाहालले शुक्रबार बताएका हुन्।
टोलीमा मोरङ व्यापार संघ अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङ अध्यक्ष सुयश प्याकुरेल र सीएनआई प्रदेश नम्बर १ अध्यक्ष भीम घिमिरेसहितका व्यवसायीहरू थिए। उनीहरू अर्थमन्त्री जनार्दन शर्मालाई भेटेलगत्तै प्रचण्डको निवास पनि पुगेका थिए ।
‘तपाईंहरूले पनि आफ्ना मागको सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्यो,’ अध्यक्ष दाहाललाई उद्धृत गर्दै व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार शारडाले भने, ‘तपाईंहरूले सडकमै उत्रिएर आन्दोलन गर्नु भएको खबर सुन्नेबित्तिकै अर्थमन्त्रीजीलाई समस्याको सम्बोधन गर्न भनिसकेको थिएँ।’
बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले एक्लैले सबै कुरा नबुझेको पनि हुनसक्ने भन्दै उनले आफ्ना पार्टीका नेताको बचाउ पनि गरे। 'त्यहाँ ब्यूरोक्रयाटले तल-माथि पनि पारिदिन सक्छन्। जे होस् त्रुटि भयो। अब सच्चिन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्,’ दाहालले भनेका थिए।
व्यवसायीको टोलीमा शारडासहित तीनवटै संगठनका अध्यक्ष र हुलास वायर सञ्चालक युक्ति गोल्छाले बजेटबाट तीन थरीका करिब २ सय उद्योगलाई परेको संकटका बारेमा प्रकाश पारेका थिए।