
काठमाडौं। फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ। ब्राण्डवर्थ प्रालिको आयोजनामा जेठ २० कन्क्लेभ आयोजना हुन लागेको छ।
कोभिड-१९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको कुरालाई मध्यनजर गर्दै कन्क्लेभ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कन्क्लेभमा डिजिटाइजेसनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरुका बारेमा सरोकारवालाहरूसँग बृहत् छलफल हुने बताइएको छ।
सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको भन्दा दुई गुणा बढी संकुचित भएको छ। तर, विश्वको डिजिटल अर्थतन्त्र कोभिड संकटको बीचमा उच्च प्रतिशतमा फस्टाएको छ। कोभिड संकटकै बीचमा खर्बौँ डलरको कारोबारले डिजिटल अर्थतन्त्रको प्रतिनिधित्व गर्दछ।
यो वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यक्रित हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको आयोजकले जनाएको छ।
कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपालः सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चारवटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुने बताइएको छ।
यी सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।
कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच प्रस्तुत हुने बताइएको छ। नेपालको डिजिटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको बेग्लै सत्र हुने आयोजकले जनाएको छ।