सिंगो देश चुनावमा मस्त तर यिनीहरु जो मतपत्रको साटो पासपोर्ट च्यापेर जाँदै थिए दुर कतै…

बिजमाण्डू
२०७९ बैशाख ३० गते १७:३४ | May 13, 2022

काठमाडौं । एकातिर स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि छनोट गर्न बिहानैदेखि मतदाताहरु आआफ्नो नाम भएको मतदान केन्द्र पुगिरहेका थिए। अर्कातिर मजबुल मियाँ भने हातमा मतपत्र नभइ पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसिरहेका थिए।

Tata
GBIME
NLIC

२९ वर्षीय मियाँलाई निर्वाचनले छोएको छैन। उनी परिवार र आफ्नो जीजीविषा धान्न विदेशिने तरखरमा थिए।

‘भोट हालेर। के गर्नु? विदेश जानैपर्छ। यता पैसा कमाउने केही छैन। परिवार पाल्नै पर्‍यो,’ उनले प्रश्न र जवाफ एकै साथ दिए।

दुबईमा काम गर्दै आएका उनका ३ वर्षीय छोरा र ५ वर्षीया छोरी छिन्। बच्चाहरुको रेखदेख उनकी श्रीमतीले गरिरहेका छिन्। दुई महिना अघि मात्रै उनी बिदामा नेपाल फर्किएका थिए। आज देशभर निर्वाचन भइरहँदा उनी भने कर्मथलो फर्किँदै थिए।

यस्तै, सिन्धुलीका विराज तामाङ पनि विमानस्थलमा पासपोर्ट हातमा लिँदै विदेशिने तरखरमा देखिए। भर्खर २० वर्ष पुगेका उनलाई मतदान गर्ने मन छैन। विदेश जान नेपालीलाई निर्वाचनलाई नरोक्ने उनको मत छ।

मजबुल र विराज प्रतिनिधिपात्र मात्र हुन्। जनप्रतिनिधि चुन्न छाडेर आज विदेशिनेको संख्या धेरै छ। कोही श्रमका लागि विदेश जाँदैछन् त कोही पढाइका लागि। यहीँ रोजगारीको ग्यारेन्टी भए आफूहरु बाहिरिनु नपर्ने उनीहरुको मत छ।

‘भोट हाले पनि बाहिर जानुपर्छ। भोट हाल्दैमा विदेश जान नपर्ने भए हुने हो,’ उनले सुनाए।