उधारो र तरलताको मारमा खाद्यान्न उद्योग, गहुँ किन्ने बेलामा धमाधम भएको स्टक घटाउँदै उद्योगी

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ बैशाख २९ गते १०:४८ | May 12, 2022
उधारो र तरलताको मारमा खाद्यान्न उद्योग, गहुँ किन्ने बेलामा धमाधम भएको स्टक घटाउँदै उद्योगी

विराटनगर। गहुँको नयाँ फसल भर्खरै निस्किएको छ। हरेक वर्ष यही वेला गहुँको पर्याप्त ‘स्टक’ गर्दै आएका मैदा मिलहरू तरलताका सङ्कटका कारण ‘स्टक’ घटाइरहेका छन्।

Tata
GBIME
Nepal Life

बजारबाट अपेक्षाकृत उधारो नउठ्ता र मागेजति रकम बैंकले रकम दिन नसक्ता उद्योगहरू खरिद र ‘स्टक’ घटाउन बाध्य भएका हुन्। मोरङ व्यापार संघका उपाध्यक्ष एवम् विशाल मैदा मिलका सञ्चालक विकासकुमार बेगवानीले आफूले प्रत्येक वर्षको वैशाख १५ देखि जेठ १५ भित्र १० हजार टन गहुँको ‘स्टक’ गर्दै आएको तर यस वर्ष ३ हजार टनमात्र ‘स्टक’ गर्न लागेको जानकारी दिए।

उद्योगी बेगवानीले आफ्नो उद्योगलाई वार्षिक २५ हजार टन गहुँ लाग्ने बताए। बेगवानीले भने, ‘२५ हजारमध्ये १० हजार टनको ‘स्टक’ गथ्र्यौं र बाँकी १५ हजार टन बजारबाट खरिद गथ्र्यौं। तर यस वर्ष १५ का सट्टा २२ हजार टन बजारबाट खरिद गर्नुपर्ने स्थिति छ।’ उनको प्रश्न थियोे, ‘बजारबाट पैसा उठ्तैन। डिलर र होलसेलरले वाँकी तिरिदिने हो भने गहुँ खरिद गर्न कसैलाई गुहार्नु पर्दैन। अर्कातिर बैकले पैसा दिइरहेका छैनन्। यस्ता वेलामा पर्याप्त गहुँ कसरी ‘स्टक’ गर्न सकिन्छ र?’

बेगवानीले पूर्वका व्यवसायीले अहिलेसम्म नेपालकै गहुँको मौज्दात गरिरहेको उल्लेख गर्दै जेठ लागेपछि भारतीय गहुँको सौदा गर्ने बताए।नेपालमा उत्पादित गहुँले पूर्वका उद्योगलाई ४५ दिन र पश्चिमका लागि ९० दिनमात्र धान्ने उनको भनाइ छ।उनले पूर्वका व्यवसायीले झापादेखि वीरगञ्जसम्मको गहुँमात्र ‘स्टक’ गर्न सक्ने उल्लेख गरे। वीरगंजभन्दा पश्चिमको गहुँ पूर्व ल्याउन ढुवानी खर्चका कारण महँगो पर्छ। नेपालको गहुँ खरिद गरिसकेरमात्र पूर्वका व्यवसायी भारतीय गहुँतिर आँखा लगाउने गर्छन्। 

भारतमा विहारका अतिरिक्त उत्तर प्रदेश, मध्य प्रदेश र पन्जाब राज्यमा गहुँको खेती ठूलो परिमाणमा गरिन्छ। उनले पूर्वोत्तर विहारको फारबिसगन्ज, सिमराही, गुलाबवाग, सहरसा, मोतीहारी र निर्मली लगायतका ठाउँबाट पूर्वका व्यवसायीले गहुँ पैठारी गर्ने गरेको स्पष्ट पारे।सुनसरीको मैदा मिल न्यूट्री फुड्स प्रालिका सञ्चालक प्रदीप शारडाले पनि यस वर्ष आफ्नो उद्योगले विगतभन्दा४० प्रतिशत कम परिमाणमा गहुँ खरिद गर्ने जानकारी दिए।

उद्योगी शारडाले उद्योगले हरेक वर्ष गहुँका सिजनमा १५ हजार टन गहुँ खरिद गर्दै आएकोमा यस वर्ष ९ हजार टनमात्र खरिद गर्न लागेको स्पष्ट पारे। शारडाको भनाइ छ, ‘कृषिजन्य उद्योगलाई कच्चा पदार्थको मौज्दात गर्न त बैङ्कले पत्याइरहेका छैनन् भने समग्र अवस्था कस्तो छ, यसैबाट अनुमान लगाउन सकिन्छ।’

गोपाल फ्लोर मिल र बाबा फ्लोर मिलका सञ्चालक भावेश राठीले हरेक वर्षको वैशाख–जेठमा २० हजार टन गहुँ ‘स्टक’ गर्दै आएका थिए । तर यस वर्ष १२ देखि १५ हजार टन पुर्याउने लक्ष्य राखेको बताए। राठीले भने, ‘जेठ १५ भित्र बढीमा १५ हजार टन खरिद गरिसक्ने लक्ष्य राखेका छौँ। पैसाको अद्भुत सङ्कट परेको छ।’

उद्योगीले तुलनात्मक कम परिमाणमा गहुँको ‘स्टक’ गरिरहेको चाल पाएपछि व्यापारिक मौज्दातकर्ता हौसिएका छन्। व्यापारीहरूले यस वर्ष ठूलो परिमाणमा ‘स्टक’ गरिरहेको उद्योगी वृत्तमा चर्चा छ। खाद्यान्नका ‘स्टकिस्ट’ श्रवण अग्रवालले अहिलेसम्म आफूले नेपालकै गहुँ खरिद गरिरहेको र चुनावपछि भारतीय गहुँ खरिद गरेर ‘स्टक’ गर्ने योजना रहेको बताए।

३२ प्रतिशत मूल्यवृद्धि
उद्योगी शारडाले नयाँ गहुँको मूल्य गत वर्षका तुलनामा ३२ प्रतिशतले वृद्धि भएको जनाए।शारडाका अनुसार गत वर्ष वैशाख १५ मा नयाँ गहुँको मूल्य प्रति किलो २८ रुपैयाँ थियो। यस वर्ष ३७ मा खुलेको छ। यसरी गहुँको मूल्यवृद्धि हुने मुख्य कारण अन्तर्राष्ट्रिय अवस्था नै हो।

रुस र युक्रेनबाट गरी संसारकै कुल खपतको ४० प्रतिशतभन्दा बढी गहुँ आपूर्ति हुन्थ्यो। तर युद्धका कारणले दुबै देशबाट गहुँको आपूर्ति ठप्प छ। यसको फाइदा भारतले उठाइरहेको छ। अर्का उद्योगी बेगवानीले २०७८–७९ का सिजनमा सबैभन्दा महँगो गहुँ गत फागुन महिनामा प्रति किलो ४० ले खरिदविक्री भएको स्मरण गरे। यस वर्ष २०७९–८० का सिजनको आगामी फागुनमा कम्तीमा ५० रुपैयाँ पुग्ने उनको अनुमान छ।

त्यस्तै अहिलेको प्रति किलो ३७ को गहुँ जेठ लागेपछि ४० पुग्ने उनको दाबी छ। उनले यति बेला कारखानाबाट मैदा प्रति किलो ४६, पीठो ४४, सुजी ५० र चोकर ४० मा विक्री भइरहेको जानकारी दिए। भारतका मन्डीले भने प्रति किलो भारतीय २२ रुपैयाँ ५० पैसा अर्थात् नेरु ३६ मा गहुँ विक्री गरिरहेका छन्।

भारतले तीव्र बनायो निर्यात
यसैबिच अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्यवृद्धि भएपछि भारतले निर्यातलाई तीव्रता दिएको छ। यस वर्ष भारतमा गहुँको फसल राम्रो हुनु र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनु दुबै घटना भारतका लागि बम्पर भएका छन्।

शारडाले भने, ‘यति वेला भारतको पूर्वोत्तर विहारका मुख्यमुख्य मण्डीमा रेलका र्याक रोकिएका छन्। सबै र्याकमा गहुँ लोड गरिँदैछ। विहारको गुलाफवाग, बथनाहा, जलालगढ, पूर्णिया लगायतका पूर्वोत्तर क्षेत्रबाट गहुँ धमाधम र्याकमा लोड भएर वन्दरगाहसम्म जाने क्रम जारी छ। भारतका विशाखापट्टनम र काकीनाडा वन्दरगाहबाट धमाधम तेस्रो मुलुकका लागि गहुँको निर्यात भइरहेको जानकारी हामीले पाएका छौँ।

यसबाहेक भारतले इजिप्टसित पेट्रोलियम पदार्थमा गहुँको बार्टर गर्दै आएको छ। यसलाई यस वर्ष पनि निरन्तरता दिएको शारडाले बताए।अर्का उद्योगी बेगवानीले भारतले विशेषतः दुबईसहितका खाडी राष्ट्र तथा अफ्रिकन, युरोपियन र अमेरिकन मुलुकमा गहुँको निर्यात गरिरहेको कुरा सुनाए। विगतमा यी मुलुकमा युक्रेनले गहुँको आपूर्ति गर्दै आएको थियो। यस वर्ष भारतले प्रतिस्थापन गरेको छ।