फागुनमा रेमिटेन्स १७ महिनायताकै सबैभन्दा धेरै भित्रियो, ९१ अर्ब रुपैयाँ भित्रियो रेमिटेन्स

बिजमाण्डू
२०७८ चैत्र २३ गते १६:४३ | Apr 6, 2022

काठमाडौं। वैदेशिक मुद्राको मौज्दात घटिरहँदा फागुनमा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा भने बढेको छ। रेमिटेन्स १७ महिनायताकै उच्च फागुनमा आएको छ।

Tata
GBIME
NLIC

फागुनमा ९१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। जबकी माघमा ७१ अर्ब ६७ करोड रुपैयाँ भित्रिएको थियो। 

फागुनमा भित्रिएजति रेमिटेन्स गत वर्ष २०७७ असोजमा मात्र भित्रिएको थियो। त्यसबेला ९३ अर्ब १३ करोड रुपैयाँ भित्रिएको थियो।

नेपाल राष्ट्र बैंकले रेमिटेन्स खातामा अन्यभन्दा एक प्रतिशत विन्दु बढी ब्याज दिन थालेकाले पनि रेमिटेन्स वृद्धि भएको विश्लेषण छ। यसबाहेक अमेरिकी डलरको भाउ बढेका कारण पनि सटही सुविधा बढि पाइन्छ भनेर रेमिटेन्स दर बढेको देखिन्छ। श्रम मन्त्रीलगायत उच्च अधिकारीहरुले खाडी मुलुकहरुमा औपचारिक माध्यमबाट रेमिटेन्स पठाउन सचेतना कार्यक्रम गरेका थिए। त्यसको असर पनि फागुनमा देखिएको हो।

सरकारले आगामी बर्षको बजेटमा रेमिट खातामा दिँदै आइएको एक प्रतिशत विन्दुको ब्याजलाई दुई प्रतिशत विन्दु बढी पुर्याउने योजनाको घोषणा गर्ने तयारी गरेको छ। यसबाहेक रेमिटेन्स औपचारिक माध्यमबाट पठाएको प्रमाणका आधारमा पुन: श्रम स्वीकृति निशुल्क गर्ने योजना पनि बनाएको छ। अहिले १५०० रुपैयाँ लाग्छ।

यसबाहेक पासपोर्ट बनाउनेलाई शुल्कमा छुटका साथै विदेशबाट सामान ल्याउँदा त्यसमा लाग्ने करमा सहुलियत दिने पनि योजना बजेटमा ल्याइँदैछ।