ग्रीनलाइनका अग्रवाल परिवारको पलायनसँगै मिटर ब्याजको डरलाग्दो तस्बिर, कसरी झाँगिदैछ ?

सविन ढकाल/बिजमाण्डू
२०७८ माघ ३ गते १५:४६ | Jan 17, 2022
ग्रीनलाइनका अग्रवाल परिवारको पलायनसँगै मिटर ब्याजको डरलाग्दो तस्बिर, कसरी झाँगिदैछ ?

काठमाडौं। 'बैंकले ग्रीनलाइनलाई बन्द गराएर ताल्चा लगाइदिएको र मिटर ब्याजीहरुको धम्की तथा बैंकहरु आइरहेकाले मानसिक अवस्था अस्थिर भएकाले काठमाडौं छोड्न बाध्य भएका हौं। र, हामी कहाँ जान्छौँ, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगाना छैन। बाँचे भने फेरि भेटौंला।'

Tata
GBIME
Nepal Life

पुस २२ गते ओमप्रकाश अग्रवालले यही ब्यहोराको 'नोट' लेखे। बैंक तथा असंगठित रूपमा धेरैसँग लिएको करोडौं ऋण तथा लकडाउनले बियर र वाइन डेट एक्सपाएर भएर आर्थिक संकटमा परेको नोटमा उनले लेखेका छन्।

नोटमा श्रीमती उषा अग्रवालको पनि हस्ताक्षर छ, साक्षीका रूपमा। ‌ओमप्रकाशले जानीबुझी नै भेटिने स्थानमा नोट छाडेर गएका थिए। ओमप्रकाशको यो चिठीको ब्यहोराले मिटर ब्याजको जालो कहाँसम्म फैलिएको छ भन्ने उजागर गरेको छ।

ओमप्रकाश बैंकको ऋणभन्दा मिटर ब्याज लगाउनेको धम्कीबाट व्यवसायबाट पलायन भएको प्रारम्भिक चरणको प्रहरीको अध्ययनबाट पनि पुष्टि हुन्छ। प्रहरीका अनुसार राम्रा भनिएका व्यवसायीलेनै अग्रवाल परिवारलाई मिटर ब्याजमा ऋण दिएका थिए।

 त्यो ऋणको मिटर घुम्न थालेपछि अग्रवाल परिवारले पैसा व्यवस्थापन गर्न सकेन र बाध्य भएर पलायन हुनुपर्ने अवस्था आयो। स्रोतका अनुसार नेपालको नाम चलेको डिपार्टमेन्टल स्टोरका संचालकले सुरुमा मिटर ब्याजमा पाँच करोड रुपैयाँ दिएका थिए।

त्यो पैसा १०, १५ करोड हुँदै उकालो लाग्यो। त्यहीबाट अग्रवाल परिवारको ओरालोको दिनगन्ती सुरु भयो। प्रहरीले यो विषयलाई समेत मिहिन ढंगले अनुसन्धानलाई अगाडि बढाएको छ।

'अग्रवालको घट्नापछि मिटर ब्याजको जालो धेरै झाँगिएको पाएका छौं। बाहिर आवरणमा व्यापार गर्ने भनिए पनि मिटर ब्याजबाट अस्वाभाविक रूपमा कमाउने प्रवृत्ति बढ्दै गएको पाइएको छ। अग्रवाल परिवारको घट्नाले त्यही कुरालाई स्थापित गरेको छ,' एक अनुसन्धान अधिकृतले भने, 'यो जालो भत्काउन सकिएन भने भूमिगत अर्थतन्त्रले प्रश्रय पाउँछ। र यसले मुलुकलाईनै संकटमा डोर्‍याउँछ।'

ती प्रहरी अधिकृतका अनुसार अग्रवाल परिवारसँग जोडिएको मिटर ब्याजबाटै यो जालो भत्काउन पहल गर्नुपर्छ। 'फलाम तातेको बेलामा माथिल्लो निकायले समेत साथ दिएमा यो अवैध धन्दा रोक्न सकिन्छ। होइन भने यो जालो भत्काउन कठिन छ,' उनले भने।

धनी शहरमा मिटर ब्याजको नमीठो कथा

नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ ले राष्ट्र बैंकको अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न निषेध गर्छ। सरकारले निर्धारण गरेको ब्याजभन्दा बढी रकम लिनु आफैंमा गैरकानुनी हो।

तर, चर्को ब्याजको लोभमा गाउँमात्र होइन, शहरमा झन् डरलाग्दो तरिकाले मिटर ब्याज मौलाएको छ। यस्ता मिटर ब्याजमा व्यापारी, कर्मचारी, नेतादेखि प्रहरीसम्मको संलग्नता देखिन्छ। मिटर ब्याजले धेरैको घरबार नै उठिबास लगाएको मात्र होइन, ज्यानै समेत लिएको छ।

दुई वर्षअघिको एउटा घटनाले त्यही बताउँछ। २०७६ पुसमा धादिङको बेनीघाट रोराङ-१ स्थित झोलुंगे पुलबाट सिंगो परिवार नै हाम फाल्यो। विनय लामिछाने, उनकी श्रीमती र दुई छोरा त्रिशूली नदीमा हाम फालेका थिए। विनयलाई प्रहरीले उद्धार गर्‍यो, बाँकीको ज्यान गुम्यो।

उक्त आत्महत्याको कारण मिटर ब्याजमै पुगेर टुंगियो। मिटर ब्याजमा लिएको १ करोडभन्दा बढी रुपैयाँ तिर्न नसक्दा आत्महत्या गरेको खुल्यो। तर, त्यस प्रकरणमा मृत्यु हुने परिवार बाहेककासँग जोडिएका अरु खाले पाटा भने खुलेनन्। उनीहरुलाई गैरकानुनी रूपमा ब्याज उठाउनेहरु किन भेटिएनन्? या खोजिएन? कसैले चासो दिएन।

अहिलेसम्म मिटर ब्याजमा ठगिएँ, पैसा डुब्यो भन्दै कोही पनि उजुरी दिन जाँदैन। किनकि त्यसरी ऋण लिनु र दिनु दुवै अपराधको शीर्षकभित्र समेटिन्छ। त्यसैले मिटर ब्याजसँग जोडिएका तथ्यांक प्रहरीसँग पनि छैन। प्रहरी प्रधान कार्यालय नक्सालले पनि मिटर ब्याजसँग जोडिएका घटनालाई अलग राखेर वर्गीकरण गरेको छैन। त्यसैले यस्ता घटनाको लगत नै छैन।

तर, शहरमा मिटर ब्याजले निम्त्याएका अपराधको लहरो चाहिँ थोरै छैन। नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेल राजनीतिक दल आबद्ध व्यक्ति, व्यापारी र प्रहरीसमेत मिटर ब्याजमा लागेको बताउँछन्।

'धेरैजसो मिटरब्याजीहरु पोलिटिकल्ली रुपमा र प्रहरीबाट पनि संरक्षित छन्। नेताको भ्रष्टाचारको रकम यिनै मिटरब्याजीले व्यवस्थापन गर्ने गरेका छन्,' खरेलले भने, 'गाउँमा भन्दा शहरमा यसको डरलाग्दो अवस्था छ।'

गत साउनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले काठमाडौंको चाबहिलबाट १९ करोड रुपैयाँभन्दा बढी रकमको चेकसहित दोलखा मेलुङ घर भएका ३३ वर्षीय गणेश उप्रेतीलाई समात्यो।

गणेशले भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौं बस्ने हेमराज गुभाजुले लिएको ऋणमा मिटर ब्याज लगाएका थिए। ऋण उठाउन उनले उनीहरुमाथि यतिसम्मको निगरानी गरेका थिए कि -उनको त्रासमा बाहिर हिँड्डुल गर्न समेत सक्दैन थिए। पैसा तिर्न नसक्दा मार्नेसम्मको धम्की आएपछि भने उनीहरु प्रहरीकहाँ पुगेका थिए। र, प्रहरीले उप्रेतीलाई नियन्त्रणमा लिएको थियो। उनले अन्य व्यक्ति समेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको थियो। तर, उनी जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा रिहा भइसके।

'मिटर ब्याजीले रकम नउठेपछि अपहरण गर्ने धम्की दिने गर्छन्। कतिपय पीडितले देश नै छोडेर भागेका उदाहरण छन्। शहरमा जताततै मिटर ब्याजी भेटिन्छ,' पूर्व डीआइजी खरेलले भने।