राष्ट्रिय वाणिज्य बैंकले घोषणा गर्‍यो ३०% बोनस सेयर, चुक्ता पुँजी १३ अर्ब ९४ करोड पुग्ने

बिजमाण्डू
२०७८ पुष २९ गते १७:३३ | Jan 13, 2022

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले सेयरधनीलाई ३३ प्रतिशत लाभांश दिने भएको छ। बिहीबार सम्पन्न १६ औं साधारणसभाले आर्थिक वर्ष २०७७ ७८ को वार्षिक प्रतिवेदन पारित गर्दै ३३ प्रतिशतले लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME

यसमा ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ।

साधारणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बोनस सेयर जारी गरेपछि बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुनेछ। यसैगरी साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ।

साधारणसभामा बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले कोभिड-१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न राष्ट्र बैंक र सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गर्ने बताए।

उनले बदलिँदो परिवेश र ग्राहकको चाहना अनुसार बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित बिभिन्न सेवाहरुका माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गर्ने नीतिगत निर्णय लिएको जानकारी दिए। बैंकको साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।