काठमाडौं। नेपाली सेनाले अधिकृत तहको रोजगारी गर्न चाहनेका लागि अवसर सिर्जना गरेको छ। सेनाले २२९ जना अधिकृत क्याडेटका लागि भर्ना खुलाएको हो।
भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले रिक्त रहेको अधिकृत पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी एक सूचना निकालेको छ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फराम भरी सोको प्रिन्ट आउटसहित स्वयम् उपस्थित भएर रितपूर्वक दरखास्त दिन भनिएको छ।
भर्ना गर्न लागिएको कुल २२९ जनामध्ये खुल्लातर्फ १२०, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती ६ जना, समावेशीतर्फ २१ जना महिला, ३३ जना आदिवासी जनजाती, २९ जना मधेशी, १५ जना दलित, ५ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ।
दरखास्त आइतबारबाट माघ १७ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ १८ गतेदेखि २४ गतेसम्म थप सात दिनसम्म दरखास्त दिन सकिनेछ।
प्रमाणपत्र तह वा सो सरह (अधिकृत क्याडेटको लागि), स्नातक वा सो सरह उत्तीर्ण (स्नातक उत्तीण क्याडेटको लागि) शैक्षिक योग्यता तोकिएको छ। एसएलसी वा एसईई परिक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्नेछ।